आदरणीय रवि लामिछाने दाइ र बालेन्द्र शाह (बालेन) दाइ,
म देशको एक सचेत नागरिक, जेन जी समूहको सदस्य र घन्टी चिन्हमा विश्वास राख्ने मतदाता हुँ । अहिले देश र जनता परिवर्तनको अपेक्षामा छन् । पुराना राजनीतिक अभ्यासबाट निराश जनताले नयाँ विकल्पको रूपमा तपाईंहरूलाई हेरेका छन् । म स्वयं पनि तपाईंहरूलाई विश्वास गरेर मत दिने मनस्थितिमा छु।
तर, लोकतन्त्रमा नागरिकको समर्थन अन्धभक्तिको जगमा होइन, स्पष्ट खाका र विवेकको जगमा उभिनुपर्छ भन्ने मेरो मान्यता छ। हामी युवा पुस्ता अब केवल भाषण र भावनामा बग्न चाहँदैनौं । हामीलाई तथ्याङ्क, निश्चित समयसीमा र कार्यान्वयनको सुनिश्चितता चाहिएको छ।
तसर्थ, देशको वैकल्पिक राजनीतिको नेतृत्व गरिरहनुभएका तपाईंहरू समक्ष एक जिम्मेवार मतदाताको हैसियतले म निम्न प्रश्नहरू सार्वजनिक रूपमा राख्न चाहन्छुः
राष्ट्रिय सुरक्षा र सीमा व्यवस्थापन : नेपालको राष्ट्रिय सुरक्षालाई २१ औं शताब्दीको आवश्यकता अनुसार सुदृढ बनाउन तपाईंहरूको दीर्घकालीन नीति के छ ? सुरक्षा निकायको आधुनिकीकरण, सीमा सुरक्षाको वैज्ञानिक समाधान, साइबर सुरक्षा र फेरिँदो भू–राजनीतिक परिवेशमा आन्तरिक स्थिरता कायम गर्ने ठोस मार्गचित्र के हो ?
सन्तुलित परराष्ट्र नीति : नेपालको भू–परिवेष्ठित अवस्थालाई अवसरमा बदल्न छिमेकी राष्ट्रहरू चीन र भारतसँगको सम्बन्धलाई ‘समानता र स्वाभिमान’का आधारमा कसरी अगाडि बढाइनेछ ? आर्थिक कूटनीति र वैदेशिक सहायताका सन्दर्भमा राष्ट्रिय हितलाई कसरी केन्द्रमा राखिनेछ ?
आर्थिक क्रान्ति र स्वदेशमै रोजगारी : मजस्ता लाखौं युवा विदेशिनु पर्ने बाध्यताको अन्त्य कहिले र कसरी हुन्छ ? स्टार्टअप संस्कृति, औद्योगिक प्रवर्द्धन र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि तपाईंहरूसँग कस्ता ‘ब्लु–प्रिन्ट’ छन् जसले गर्दा विदेशिएका नेपाली युवाहरू स्वदेश फर्कने वातावरण बनोस् ?
शून्य सहनशीलता र भ्रष्टाचार नियन्त्रण : भ्रष्टाचारका पुराना फाइलहरू खोल्ने र नीतिगत भ्रष्टाचार रोक्ने सवालमा तपाईंहरूको पार्टीले कस्तो कानुनी र संस्थागत सुधारको योजना बनाएको छ ? छानबिन प्रक्रियालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने ग्यारेन्टी के छ ?
शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन : शिक्षा र स्वास्थ्य व्यापार होइन, मौलिक अधिकार हुनुपर्छ। सरकारी विद्यालय र अस्पतालहरूको गुणस्तर निजी क्षेत्रको भन्दा अब्बल बनाउन तपाईंहरूको स्पष्ट ‘टाइम लाइन’ सहितको खाका के छ ?
पर्यटनको व्यवसायीकरण : पर्यटनलाई केवल संख्यामा होइन, गुणस्तर र विदेशी मुद्रा आर्जनको मुख्य स्रोत बनाउन पूर्वाधार विकास र अन्तर्राष्ट्रिय बजारीकरणका लागि के–कस्ता नवीन योजनाहरू छन् ?
सांस्कृतिक एवं धार्मिक संरक्षण : नेपालको बहुधार्मिक र बहुसांस्कृतिक पहिचान हाम्रो सम्पत्ति हो। सनातन धर्मको संरक्षण, सांस्कृतिक धरोहरहरूको संवर्द्धन र सबै समुदायको भावनाको सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न तपाईंहरूको दृष्टिकोण के हो ?
गरिबी निवारण र लक्षित कार्यक्रम : अझै पनि गरिबीको रेखामुनि रहेका सीमान्तकृत समुदाय, दलित, महिला र पिछडिएको क्षेत्रको सशक्तीकरणका लागि ‘वितरणमुखी’ होइन ‘उत्पादनमुखी’ सामाजिक सुरक्षाका योजनाहरू के छन् ? के गरिबी घटाउने कुनै मापनयोग्य लक्ष्य सार्वजनिक गर्नुहुनेछ ?
कृषिमा आधुनिकीकरण र किसानको सम्मान : किसानले सधैं मल, बीउ र बजारका लागि रुनुपर्ने अवस्थाको अन्त्य कसरी हुन्छ ? निर्वाहमुखी कृषिलाई व्यावसायिकरण गर्न, युवालाई कृषिमा आकर्षित गर्न र उत्पादित वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने विषयमा तपाईंहरूको ठोस योजना के छ ?
आगामी ५ वर्षको स्पष्ट लक्ष्य : यदि तपाईंहरूले देशको नेतृत्व गर्ने अवसर पाउनुभयो भने, आगामी ५ वर्षमा आर्थिक वृद्धिदर, रोजगारी दर र मानव विकास सूचकांकलाई कुन विन्दुमा पुर्याउने लक्ष्य राख्नुभएको छ ? के यी लक्ष्यहरू पूरा नभएमा ‘नैतिकता’का आधारमा पद त्याग्ने साहस तपाईंहरूमा छ ?
आदरणीय दाइहरू,
हामी जेन–जी पुस्ता के गर्ने ? भन्ने सुन्न भन्दा पनि कसरी गर्ने ? भन्ने बुझ्न चाहन्छौं। तपाईंहरू प्रतिको हाम्रो भरोसालाई मत मा बदल्न यी प्रश्नहरूको स्पष्ट र तार्किक उत्तरको प्रतीक्षामा छौं। देश परिवर्तनको यो ऐतिहासिक अवसरमा हामी तपाईंहरूको साथमा उभिन तयार छौं, मात्र तपाईंहरूको स्पष्ट प्रतिबद्धता र कार्ययोजनाको आवश्यकता छ।
उचित उत्तर र स्पष्ट कार्यदिशाको अपेक्षासहित।
मनिषा आचार्य (हालः दक्षिण कोरिया)
(एक सचेत एवं आशावादी मतदाता)