• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विदेशी ब्रान्डको नक्कल गर्ने नेपाली उद्योगहरूलाई ७ दिने अल्टिमेटम

काठमाडौं । विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ब्रान्ड नाम र लोगो नक्कल गरिएको दाबी गर्दै नेपालका केही उद्योगविरुद्ध उजुरी दिएपछि उद्योग विभागले छानबिन प्रक्रिया तीव्र बनाएको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै उजुरीमा परेका ११ वटा स्वदेशी उद्योग तथा कम्पनीलाई सात दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको छ । यसअघि नै सम्बन्धित कम्पनीहरूलाई पत्रमार्फत प्रतिक्रिया माग गरिएको भए पनि हालसम्म कुनै जवाफ नआएको विभागले जनाएको छ ।

‘सूचना प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक ७ दिनभित्र कानुन शाखामा उपस्थित भई लिखित जवाफ दिनुहोस्,’ विभागले सूचनामार्फत भनेको छ । तोकिएको समयभित्र प्रतिक्रिया नआए कानुनअनुसार एकतर्फी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

उजुरीहरू सबै ट्रेडमार्क दाबी विरोधसँग सम्बन्धित छन्, जसमा अन्तर्राष्ट्रिय ब्रान्डहरूले नेपाली उत्पादनमा आफ्नै नाम वा त्यससँग मिल्दोजुल्दो चिन्ह प्रयोग गरिएको आरोप लगाएका छन् ।

कोकाकोला, जुम, ह्युगो बोस, टर्नर इन्टरटेनमेन्ट, ट्रेक बाइसाइकल लगायत कम्पनीहरूले विभिन्न नेपाली उद्योगविरुद्ध उजुरी दिएका छन् । उनीहरूको दाबीअनुसार केही स्थानीय उत्पादनमा अन्तर्राष्ट्रिय ब्रान्डसँग मिल्ने नाम प्रयोग गरिएको छ ।