धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार एवं नेकपा नेता प्रेम बहादुर आलेले आफूले नेपाली कांग्रेसका नेताहरूले पैसा खाएको भनी कुनै पनि नामावली उपलब्ध नगराएको स्पष्ट पारेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आलेले सामाजिक सञ्जालमा फैलाइएको उक्त कुरालाई भ्रामक, कपोकल्पित र आधारहीनु भन्दै खण्डन गरेका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम स्वीकार गर्दै निर्वाचित उम्मेदवारलाई बधाई दिइसकेको अवस्थामा अहिले आएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले कुप्रचार गरिएको आलेको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ‘मनु’ले जनताको फैसला स्वीकार गर्नुको सट्टा पूर्णतः असत्य र मनगढन्ते कुरा गरी मेरो चरित्र हत्या गर्ने उद्देश्यले ५७ जना कांग्रेसीले पैसा खाएको भन्दै मैले नामावली उपलब्ध गराएको भन्ने भ्रम फैलाइएको छ, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’
आलेले आफू विगतमा डोटी जिल्लाबाट चुनाव लड्दै आएको र कैलाली क्षेत्र नं ५ मा नयाँ भएकाले यहाँका स्थानीय कांग्रेसी नेताहरूसँग आफ्नो सामान्य चिनजान समेत न्यून रहेको बताएका छन्। यस्तो अवस्थामा ५७ जनाको नामावली उपलब्ध गराएको भन्ने कुरा शतप्रतिशत झुटो र समाज भाँड्ने प्रयास मात्र भएको उनको दाबी छ।
आलेले कांग्रेस उम्मेदवार शाहलाई चुनौती दिँदै भनेका छन्, ‘यदि मैले कुनै व्यक्तिलाई पैसा दिएको वा नामावली उपलब्ध गराएको प्रमाण छ भने तत्काल सार्वजनिक गर्न चुनौती दिन्छु। अन्यथा, यस्ता झुटा आरोप फैलाउनेहरूमाथि म कानुनी उपचारको बाटो अपनाउन बाध्य हुनेछु।’
उनले राजनीतिक छवि धुमिल पार्न खोज्ने तत्वहरूसँग सचेत रहन र सत्यतथ्य बुझ्न आम जनतालाई अनुरोध समेत गरेका छन्। उनले जिम्मेवार पार्टीका उम्मेदवारबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद भएको उल्लेख गरेका छन्।