१७९३ को अक्टोबर महिना ।
भर्खरै गणतन्त्र कायम भएको फ्रान्सले एउटा सनसनीपूर्ण प्रयोग सुरु गर्ने निर्णय गर्यो । उसले गरेको प्रयोग थियो-समय परिवर्तन गर्ने ।
फ्रान्सका क्रान्तिकारीहरूले निर्णय गरे-अब एक दिनलाई २४ घण्टाले होइन, १० घण्टाले विभाजित गरिनेछ । प्रत्येक घण्टामा १०० मिनेट डेसिमेलहरू हुनेछन्, जसलाई फेरि १०० डेसिमेल सेकेन्डमा विभाजन गरिनेछ । योसँगै, १० दिनलाई एक हप्ता मानिने व्यवस्था समेत गरियो ।
यो समय प्रणाली व्यापक क्रान्तिकारी पात्रोको हिस्साका रूपमा ल्याइएको थियो । यसले वर्षको संरचनालाई व्यवस्थित गर्ने र इसाई प्रभुत्व घटाउने लक्ष्य राखेको थियो ।
घर, बस्ती तथा शहरहरुमा पहिल्यै अवस्थित घडीहरूलाई डेसिमेल प्रणालीमा रूपान्तरण गर्न काम तत्कालै सुरु गरियो । नगरपालिकाहरूले डेसिमेल घडीहरू जडान गरे र नयाँ पात्रोमार्फत नै आधिकारिक गतिविधिहरूको अभिलेख राख्न थालियो ।
तर यस कार्यले नदुखेको टाउको दुखाउन सुरु गर्यो । पहिल्यै अवस्थित घडीहरूलाई पुनः डिजाइन र रूपान्तरण गर्नु अत्यन्तै कठिन साबित भयो । यस प्रणालीले फ्रान्सलाई छिमेकी देशहरूबाट अलग्याउँदै गयो । साप्ताहिक बिदा प्रत्येक १० दिनमा एक दिन मात्र हुने भएकोले ग्रामीण भेगका जनताले यस्तो प्रणालीलाई रुचाएनन् ।
अन्ततः फ्रान्समा यो समय प्रणाली एक वर्षभन्दा अलि बढी मात्र टिक्न सक्यो।
हामीले कसरी दिनमा २४ घण्टा, एक घण्टामा ६० मिनेट र एक मिनेटमा ६० सेकेन्ड गन्न थाल्यौँ र आजपर्यन्त पनि किन त्यसरी नै गन्छौँ भन्ने बुझ्न समय मापन सुरु हनुअघिको युगमा फर्कनुपर्छ । यसले नै हामीलाई कसरी यो प्रणालीमा ल्यायो र किन यो जटिल प्रणाली विभिन्न सभ्यताहरूसँगै आजसम्म आइपुग्यो भनेर बुझाउन सक्छ ।
६० को आधार
यसको उत्पत्तिमा सुमेरियनहरू छन् । सुमेरियनहरू प्राचीन मेसोपोटामिया (आजको इराक आसपास पर्दछ) मा करिब ५३००–१९४० ईसा पूर्वसम्म बसोबास गर्थे । उनीहरूलाई नै शहर स्थापना गर्ने पहिलो सभ्यताहरूमध्येको एक मानिन्छ । सिँचाइ र हल जस्ता धेरै आविष्कारहरू र पहिलो ज्ञात लेखन प्रणाली सिर्जना गर्ने श्रेय पनि उनीहरूलाई नै जान्छ । यसमा ६० को अवधारणामा आधारित सङ्ख्या प्रणाली पनि समावेश थियो ।
तपाईँले आफ्नो हातको एउटा औँला भाँच्नुभयो भने तपाईँले त्यसमा तीन वटा जोर्नी देख्नुहुनेछ । एउटा हातका सबै औँलाहरू (बुढी औँला बाहेक) का जोर्नी गन्नुहोस्, तपाईँले १२ गन्नुहुन्छ । अब अर्को हातको एउटा औँला प्रयोग गरेर यो १२ लाई एक मान्नुहोस् र दोस्रो हातका सबै पाँच औँलाहरू प्रयोग नभइन्जेल पहिलो हातमा फेरि १२ सम्म गन्नुहोस् । त्यसरी गन्दा कति आयो ? उत्तर आउँछ-६० ।
सुमेरियनहरूले आफ्नो गणितीय प्रणालीलाई १० नभएर ६० मा आधारित बनाउनुका एउटा सम्भावित कारण यसैलाई मानिन्छ ।
क्यानडाको न्यु ब्रन्सविक विश्वविद्यालयका क्यूनिफार्म (प्राचीन मध्य पूर्वको प्रारम्भिक लेखन प्रणाली) संस्कृतिका विशेषज्ञ मार्टिन विलिस मुनरो भन्छन्, “मेरियनहरूको लिखित संख्याको विकास बढ्दो शहरीकरण र जटिल कृषि प्रणालीको रेकर्ड राख्ने आवश्यकताबाट प्रेरित थियो ।”
यसले गर्दा उनीहरूले साना माटाका ‘ट्याब्लेटहरू’ प्रयोग गर्न थाले, जुन प्रायः स्मार्टफोन जत्तिकै वा साना थिए र त्यसमा नरम माटोमा चिन्ह दबाएर सङ्ख्या अभिलेख गरिन्थ्यो । पछि चित्रात्मक चिन्हहरू थपिँदै गए र सुमेरियनहरूको प्रसिद्ध क्युनिफर्म लेखनमा विकसित भयो ।
१९औँ शताब्दीको मध्यतिर मात्र यी माटाका ट्याब्लेटहरू फेला परे र त्यसबारे व्याख्या हुन सुरु भयो । ती ट्याब्लेटले सुमेरियनहरूले विभिन्न सङ्ख्या प्रणालीहरू प्रयोग गर्थे र गणित, खगोल शास्त्र र अन्ततः समयका लागि सबैभन्दा महत्त्वपूर्ण सेक्साजेसिमल (६० मा आधारित) प्रणाली थियो भन्ने देखाउँछन् ।
सुमेरियनहरूले ६० लाई हामीले अहिले १० प्रयोग गर्ने तरिकासँग मिल्दोजुल्दो तरिकाले प्रयोग गर्थे । जब हामी ९ मा पुग्छौँ, हामी अर्को स्थानमा सर्छौँ, एक लेख्छौँ र शून्य थप्छौँ ।
“सेक्साजेसिमलमा पनि त्यस्तै हुन्छ, उनीहरू ५९ सम्म पुग्छन् र त्यसपछि नयाँ ठुलो सङ्ख्या लेख्नुको सट्टा अर्को स्थानमा १ राख्छन्,” हालै अमेरिकाको ब्राउन विश्वविद्यालयबाट सटीक विज्ञान र पुरातात्त्विक इतिहासमा विद्यावारिधि पूरा गरेकी एरिका मेस्जारोस भन्छिन् ।
यद्यपि, औँला गन्ने सिद्धान्त सहज भए पनि सुमेरियनहरूले किन ६० मा आधारित प्रणाली रोजे भन्ने स्पष्ट छैन । “६० कहाँबाट आयो भन्ने कुराको धेरै प्रमाण छैन,” मुनरो भन्छन्, “केही विद्वानहरू भन्छन् कि यो प्रणाली सुमेरियनभन्दा पनि पुरानो हुन सक्छ ।”
तर पनि यसको प्रयोग भने सजिलो छ । ६० लाई १, २, ३, ४, ५, ६, १०, १२, १५, २०, ३० र ६० ले विभाजन गर्न सकिन्छ, अंश वा डेसिमल बिना । यसको विपरीत, १० लाई केवल १, २, ५ र १० ले मात्र विभाजन गर्न सकिन्छ । “व्यावहारिक प्रयोजनका लागि सङ्ख्या विकास गर्दा, जस्तै लेखा, कर वा खेत विभाजन गर्दा, यस्तो सजिलो प्रणाली उपयोगी हुन्छ,” मेस्जारोस भन्छिन् ।
समयको उत्पत्ति
सुमेरियनहरूले समय प्रयोग गर्थे भन्ने स्पष्ट प्रमाण छैन । तर सम्भवतः त्यस क्षेत्रमा समय मापन पहिले नै थियो । बेबिलोनियनहरूले (सुमेरियनहरू पछि आएको प्राचीन मेसोपोटामियाली सभ्यता) भने करिब १००० ईसा पूर्वमा सुर्यघडी र पानीघडी प्रयोग गरेको प्रमाण भेटिन्छ ।
स्विट्जरल्याण्डको बासेल विश्वविद्यालयकी पुरातत्त्वविद् रीता गौत्चीका अनुसार दिनलाई घण्टामा विभाजन गर्ने पहिलो सभ्यतामा प्राचीन इजिप्टियनहरू पर्छन् । यो लगभग २५०० ईसा पूर्वको धार्मिक ग्रन्थहरूमा देखिन्छ । “घण्टासँग सम्बन्धित ज्ञात वस्तुहरूले सुरुमा रातको १२ घण्टालाई उल्लेख गरेका थिए । यो कुरा २१०० र १८०० ईसा पूर्वको बिचमा कुलीन इजिप्टियनहरूको कफिनको भित्री ढक्कनमा फेला परेका तारा घडीहरूले पुष्टि गरेका थिए,” गौत्ची भन्छिन् ।
इजिप्टियनहरूले किन १२ रोजे भन्ने स्पष्ट छैन । सायद राशिचक्र, औँलाका जोर्नी वा १० दिने हप्तासँग सम्बन्धित ताराहरूले गर्दा यसो गरिएको हुन सक्छ।
करिब १५०० ईसा पूर्वमा सुर्यघडी र पानीघडी विकास भए । ती प्रायः धार्मिक प्रयोजनका लागि प्रयोग हुन्थे ।
सुरुमा, कामको पालो सानो समय एकाइ (बिहान वा दिउँसो) थियो । तर रोमन कालसम्म आइपुग्दा घण्टा मानक बन्यो र आधा घण्टा पनि प्रयोग हुन थाल्यो ।
मिनेटको आगमन
बेबिलोनियनहरूले घण्टालाई साना एकाइमा विभाजन गरे । यद्यपि, उनीहरूले दैनिक प्रयोगका लागि भने त्यसो गरेका थिएनन् ।
२००० ईसा पूर्वदेखि ५४० ईसा पूर्वसम्म फस्टाएका बेबिलोनियनहरूले सुमेरियनहरूबाट क्यूनिफर्म लिपि र सेक्साजेसिमल संख्या प्रणाली दुवै अपनाए । मेस्जारोस भन्छिन्, “लगभग १००० ईसा पूर्वसम्ममा उनीहरूले सूर्यलाई आकाशमा एउटै स्थानमा फर्कन कति समय लाग्यो भन्ने आधारमा क्यालेन्डर विकास गरिसकेका थिए-३६० दिनभन्दा अलि बढी ।”
यो प्रणालीले बेबिलोनियनहरूको लागि उपयोगी सिद्ध रह्यो । तिनीहरू पछि आएका मानिसहरूले खगोलीय तथ्यांक लिन र परम्पराहरू अघि बढाउन पनि यसैलाई मानक बनाएको मेस्जारोसको तर्क छ ।
यो पहिले नै ६० मा आधारित गणना प्रणाली प्रयोग गरिरहेको सभ्यताको लागि उपयोगी संख्या थियो । “वाह, सेक्साजेसिमल प्रणालीमा त्यो राम्रो छैन र?” मेस्जारोस भन्छिन्, “वास्तवमा, यसले साँच्चै राम्रोसँग ३० दिनको १२ महिना बनाएको थियो, जुन चन्द्रमा चक्रसँग पनि मिल्छ,” उनी भन्छिन् ।
उनीहरूले सुमेरियनहरूको ६० आधारित प्रणाली अपनाए ।
बेबिलोनियनहरूले दिन प्रति दिन प्रयोगको लागि एक व्यावहारिक समय प्रणाली विकास गरे जसले दिन र रात दुवैलाई १२ मा विभाजन गर्यो । यी मौसमी घण्टाको लम्बाइ दिन र रातको लम्बाइसँग फरक हुन्छ । “हामीले दिनलाई १२ मा विभाजन गर्यौँ किनभने हामीले रातको आकाशलाई १२ महिना र १२ राशि चिन्हहरूमा विभाजन गर्छौँ,” मेस्जारोस भन्छिन् ।
धेरै अन्य प्राचीन सभ्यताहरूले मौसमी घण्टा प्रयोग गर्थे र तिनीहरू १५ औँ शताब्दीको युरोप र १९ औँ शताब्दीको जापानमा अझै पनि प्रयोगमा थिए ।
आफ्नो गणनामा आवश्यकताबाट प्रेरित भएर बेबिलोनियनहरूले यी बेरु डबल-घण्टाहरूलाई उश भनेर चिनिने ३० प्राचीन मिनेटमा विभाजन गर्न थाले, जुन प्रत्येक हाम्रो वर्तमान समयको चार मिनेट बराबर थियो । यिनीहरूलाई थप ६० ले निन्डा भनिने साना एकाइहरूमा विभाजित गरियो, प्रत्येकको मूल्य लगभग चार आधुनिक सेकेन्ड थियो । “यी उपविभाजनहरू सम्भवतः प्रयोग गरिएको थियो किनभने हामी सेक्साजेसिमल प्रणालीमा चीजहरूलाई ६० को समूहमा विभाजन गर्छौँ,” मेस्जारोस भन्छिन् ।
तर उनीहरूले यसलाई समयभन्दा बढी खगोल शास्त्रीय गणनाका लागि प्रयोग गर्थे।
ग्रीकहरूले यो प्रणाली अपनाए र त्यसै आधारमा नयाँ अवलोकन थपे।
सेकेन्ड गन्ने प्रक्रिया
ग्रीकहरूले दरबारमा बालुवा घडीहरू राखेका थिए । “मानिसहरूलाई बोल्नको लागि समान समय होस् भनेर उनीहरूले अपनाएको बेबिलोनियन समय प्रणाली ज्योतिषीहरूले मात्र अवधारणात्मक रूपमा प्रयोग गर्थे र धेरै हदसम्म दैनिक जीवनको लागि सान्दर्भिक थिएन,” गौत्ची भन्छिन् ।
तर घण्टा, मिनेट र सेकेन्डको अवधारणा पछि मात्र दैनिक जीवनमा आयो ।
केही सय वर्षअघि मात्र यस्ता उपकरणहरू पर्याप्त सटीक भए कि मिनेट र सेकेन्ड दैनिक प्रयोगमा आए ।
आज वैज्ञानिक परिभाषामा सेकेन्ड प्रयोग हुन्छ । पछि मिलिसेकेन्ड र माइक्रोसेकेन्ड जस्ता एकाइहरू पनि थपिए ।
२० औँ शताब्दीमा परमाणु घडीहरूले वैज्ञानिकहरूलाई अझ सटीक रूपमा सूर्यको परिक्रमाको आधारमा यसलाई परिभाषित गर्नेदेखि सिजियम १३३ परमाणुहरूद्वारा माइक्रोवेभ विकिरणको अवशोषण र उत्सर्जनमा आधारित सटीक परिभाषित गर्ने सुविधा थप्यो । आज, हाम्रो विश्वव्यापी आणविक घडीहरूको नेटवर्कले लगभग हरेक आधुनिक घडीको समय राख्छ र इन्टरनेटदेखि जिपिएस र सुपर सटीक एमआरआईसम्म किटान गर्न सक्छ ।
समय मापनको इतिहासले यो मानव निर्मित प्रणाली हो भनेर देखाउँछ । घण्टा, मिनेट र सेकेन्ड विभिन्न निर्णय, संयोग र घटनाबाट आएका हुन् । तर उपयोगी भएकाले आजसम्म टिकेका छन् ।
यो समय प्रणाली शताब्दीयौँसम्म उपयोगी सम्पदाको रूपमा हामीसँग रहे । प्राचीन समयको ह्याङओभर यति गहिरो रूपमा जरा गाडेर बसेको हुन्छ छ कि सायद अब यो प्रणाली परिवर्तन गर्न खोजिएमा त्यसलाई सम्हाल्न असम्भव प्राय: हुनेछ । (बीबीसीबाट)