• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वाणिज्य बैंकहरूको नाफा झन्डै ४४ अर्ब, कुन बैंकको कति?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनमा वाणिज्य बैंकहरूको खुद नाफा झन्डै ४४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत साउनदेखि फागुनसम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

वाणिज्य बैंकहरूको यो नाफा गत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ८ महिनामा वाणिज्य बैंकहरूको नाफा ४३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा ९ वटा बैंकले नाफा बढाएका छन् भने ११ वटा बैंकको नाफा घटेको छ ।

यस अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले ८ महिनामा ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको दाँजोमा २६.८७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ८ महिनामा ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नबिलपछि सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले आर्जन गरेको छ । बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, बैंकको यो नाफा यो गत वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७२ करोड ९५ लाखको नाफा कमाएको थियो ।

कुमारी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको दाँजोमा २७४.६५ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको तुलनामा एभरेष्ट बैंकको नाफा ३.३५ प्रतिशतले घटेर २ अर्ब ९० करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा समेत २९.४९ प्रतिशतले घटेको छ । बैंकले यस अविधिमा २ अर्ब ८८ करोड ९ लाख रुपैयाँ नाफामा सीमित भएको छ ।

प्राइम कमर्सियल बैंकले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको दाँजोमा ९.६८ प्रतिशतले बढी हो ।

एनएमबि बैंकको नाफा २.५८ प्रतिशतले घटेर २ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३५.६८ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा बैंकले २ अर्ब ३३ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
सानिमा बैंकले समेत २३.२१ प्रतिशतले नाफा वृद्धि गर्दै २ अर्ब ७ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंकले ६८.३१ प्रतिशतको नाफा वृद्धि गर्दै २ अर्ब ४ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १६.८७ प्रतिशतको छ । यस अवधिमा बैंकको नाफा १ अर्ब ८० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।

प्रभु बैंकको नाफा पनि १७.४० प्रतिशतले घटेर १ अर्ब ७४ करोड ७० लाख रुपैयाँमा झरेको छ ।

माछापुच्छ्रे बैंकले यस अवधिमा १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २७.७२ प्रतिशतलदे बढी हो ।

नेपाल एसबीआई बैंकले १०.८९ प्रतिशतको वृद्धि हासिल गर्दै यस अवधिमा १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

हिमालयन बैंकको नाफा भने २०.७९ प्रतिशतले घटेको छ । बैंकले १ अर्ब ३२ करोड २६ लाख रुपैयाँ कमाएको छ ।

कृषि विकास बैंकले भने ६५.५६ प्रतिशतले नाफा वृद्धि गरेको छ । यस अवधिमा बैंकले १ अर्ब २२ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल बैंकको नाफा भने ६०.२८ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले केबल १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३१.०७ प्रतिशतले घटेर ८० करोड ७ लाख रुपैयाँमा झरेको छ ।

लक्ष्मी सनराइज बैंकको नाफा समेत ६५ करोड ५ लाख रुपैयाँमा झरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको दाँजोमा ६७.३६ प्रतिशतले कम हो ।

सबैभन्दा कम नाफा गर्ने बैंकमा एनआइसी एशिया बैंक रहेको छ । बैंकले गत ८ महिनामा ३० करोड ८३ लाख रुपैयाँमा मात्र नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुदलनामा ६२.४१ प्रतिशतले कम हो ।