• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

व्यवसायलाई आधुनिक र सुरक्षित बनाउने ‘एनसेल क्लाउड’

काठमाडौँ । नेपालको प्रमुख दूरसञ्चार प्रदायक एनसेलले नेपाली व्यवसायीहरूलाई लक्षित गर्दै ल्याएको ‘एनसेल क्लाउड’ सेवा लोकप्रिय बन्दै गएको छ । डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न र स्थानीय व्यवसायहरूलाई प्रविधिमैत्री बनाउन एनसेलले स्थानीय स्तरमै होस्ट गरिएको ‘कम्प्युटिङ पावर’ र ‘स्टोरेज’ सुविधा उपभोग गर्नेहरुको संख्या बढ्दै गएको हो ।

के हो एनसेल क्लाउड?

एनसेल क्लाउडको सबैभन्दा ठूलो विशेषता यसको ‘डाटा रेसिडेन्सी’ हो । नेपालका कानुनी प्रावधानहरू पालना गर्दै यसले ग्राहकको महत्त्वपूर्ण डाटालाई नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चित गर्दछ । यसमा अन्तर्निहित ब्याकअप र ‘डिजास्टर रिकभरी’ (विपद् पछिको पुनः प्राप्ति) विकल्पहरू रहेका छन्, जसले गर्दा कुनै पनि प्राविधिक समस्या वा प्राकृतिक प्रकोपको समयमा पनि व्यवसायको डाटा हराउने जोखिम हुँदैन ।

एनसेल क्लाउडमार्फत कम्पनीहरूले आफूलाई चाहिएको क्षमता तत्कालै प्राप्त गर्न सक्छन् । यसमा ‘पे-एज-यु-गो’ मोडल रहेको छ, जसको अर्थ व्यवसायीले जति क्षमता प्रयोग गर्छन्, त्यति मात्र शुल्क तिर्नुपर्ने हुन्छ ।

कसका लागि उपयोगी ?

एनसेल क्लाउड विशेषगरी डाटा रेसिडेन्सी र नियमन पालना गर्नुपर्ने बैंक, बीमा कम्पनी र सरकारी निकायहरू, उच्च ट्राफिक हुने स्वास्थ्य सेवा नेटवर्क र शिक्षा पोर्टलहरू, अत्यधिक चाप हुने मिडिया, ई-कमर्स र डिजिटल व्यवसायहरू तथा आफ्ना पुराना प्रणालीहरूलाई आधुनिक बनाउन चाहने र प्रणालीमा नियन्त्रण खोज्ने उद्यमहरूका लागि उपयुक्त छ ।

विशेषगरी कडा सुरक्षा र नियमन पालना गर्नुपर्ने बैंक तथा बीमा कम्पनीहरूका लागि यो भरपर्दो प्लेटफर्म हो । यस्तै, दसैँ-तिहार जस्ता चाडपर्वका बेला अनलाइन सपिङमा आउने अचानकको चापलाई यसले सहजै धान्न सक्छ । नतिजा प्रकाशनको समयमा विद्यालय र कलेजका वेबसाइटहरू क्र्यास हुने समस्यालाई यसले समाधान गर्छ । अस्पतालहरूले बिरामीको रेकर्ड सुरक्षित राख्न यसको प्रयोग गर्न सक्छन्। कम लगानीमा आफ्ना एप र वेबसाइटहरू तुरुन्तै लन्च गर्न चाहने स्टार्टअपहरूका लागि यो निकै लाभदायक हुने एनसेलकाे विश्वास छ ।

एनसेलले यस प्लेटफर्ममा २४सै घण्टा निगरानी र विशेषज्ञ प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ । सेवा स्तर सम्झौतामा आधारित सञ्चालनले गर्दा व्यवसायको दैनिक प्रणालीहरू बिना कुनै अवरोध सुचारु रहनेछन् ।

आफ्ना पुराना आईटी प्रणालीहरूलाई आधुनिक बनाउन चाहने ठूला कर्पोरेट हाउसहरूले पनि चरणबद्ध रूपमा आफ्ना डाटाहरू एनसेल क्लाउडमा स्थानान्तरण गर्न सक्नेछन् । यसले गर्दा उनीहरूको सञ्चालन खर्च घट्ने र कार्यक्षमता बढ्ने विश्वास गरिएको छ ।

यस सेवाबारे थप जानकारी लिन वा सेवा सुरु गर्न चाहने व्यवसायीहरूले एनसेलमा सम्पर्क गर्न सक्नेछन् ।