काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा वाणिज्य बैंकहरुको नाफामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेका तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटै बैंकहरूले समग्रमा ४९ अर्ब २१ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका हुन् ।
चालु आर्थिक वर्षमा बैंकहरुले गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९ दशमलव ३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकहरुले करिब ४१ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।
यस अवधिमा २० बैंकमध्येमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले करिब ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको हो । नबिललको यो नाफा गत वर्षको तुलनामा करिब ३३ प्रतिशतले बढी हो ।
नबिलपछि सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले आर्जन गरेको छ । ग्लोबल आइएमईले ४ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको हो । यद्यपि, अघिल्लो वर्षको दाँजोमा बैंकको नाफा २ दशमलव ९ प्रतिशतले खुम्चिएको छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकले असाधारण नाफा आर्जन गरेको छ । कुमारीले यस अवधिमा ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ । जबकि, गत वर्षको यसै अवधिमा कुमारीको नाफा केबल २८ करोड रुपैयाँ थियो । एकै वर्षमा कुमारीले १३६१ प्रतिशतले नाफा वृद्धि गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा १२९ दशमलव ३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड २० लाख रुपैयाँ पुग्दा हिमालयन बैंकले आफ्नो नाफा ५२ दशमलव ४९ प्रतिशतले वृद्धि गर्दै करिब ७६ करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।
यस अवधिमा माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको दाँजोमा ५० दशमलव ४३ प्रतिशतको वृद्धि हो ।
सानिमा बैंकको नाफा ४२ दशमलव २२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड २ लाख रुपैयाँ पुगेको छ भने सिटिजन्स बैंकको नाफामा ३५ दशमलव ८२ प्रतिशतले बढेर १ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
प्राइम कमर्सियल बैंकको नाफा ३८ दशमलव ५८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड ९३ लाख रुपैयाँ पुग्दा लक्ष्मी सन्राइज बैंकको नाफा २३ दशमलव ३६ प्रतिशतले बढेर २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
नेपाल एसविआई बैंकको नाफा पनि २१ दशमलव ४९ प्रतिशतले बढेर १ अर्ब ४६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
सिद्धार्थ बैंकको नाफा २० दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने एनएमबि बैंकको नाफा १३ दशमलव २५ प्रतिशतले बढेर २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
नेपाल बैंकको नाफा ० दशमलव ३४ प्रतिशतले मात्र बढेको छ । यस अवधिमा नेपाल बैंकले २ अर्ब ७९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस अवधिमा ७ वटा बैंकको नाफामा भने घटेको छ । पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा प्रभु बैंकको घटेको छ । प्रभु बैंकको नाफा ५४ दशमलव ६१ प्रतिशतले घटेर ८५ करोडमा सीमित भएको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० दशमलव ६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६८ लाख रुपैयाँमा झरेको छ भने एभरेष्ट बैंकको नाफा ३ दशमलव ७ प्रतिशतले घटेर ३ अर्ब ३२ करोडमा सीमित भएको छ ।
कृषि विकास बैंकको २४ दशमलव ४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ४० लाख रुपैयाँमा झर्दा एनआइसी एशिया बैंकको नाफा १० दशमलव ४९ प्रतिशतले घटेर करिब १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।
स्ट्यान्डर्ड चार्टर्डको नाफामा पनि ४ दशमलव २४ प्रतिशतको गिरावट आउँदै २ अर्बमा सीमित भएको छ ।
यस अवधिमा सबैभन्दा कम नाफा एनआइसी एशिया बैंकले गरेको छ । यस अवधिमा बैंकको नाफा १० प्रतिशतले घटेर १४ करोडमा झरेको छ ।
सगम्र अर्थतन्त्रमा सुस्त रहँदा रहँदै पनि बैंकहरूको नाफामा आएको सुधारले वित्तीय प्रणाली क्रमशः स्थिर हुँदै गएको संकेत गरेको छ ।
खराब कर्जा व्यवस्थापनमा सुधार, ब्याज आम्दानीमा वृद्धि, र फि तथा कमिसन आम्दानीको विस्तारलाई बैंकहरूको नाफा वृद्धि हुनुको प्रमुख आधार मानिएको छ ।