फिल्म ‘प्रेमगीत ३’को नेपाली र हिन्दी संस्करण एकैदिन प्रदर्शन हुने

काठमाडाैं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने भएको छ ।

असोज ७ गतेदेखि पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो । फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका थिए ।

अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका थिए । हिन्दी टिजरलाई दर्शकले रुचाएपछि हिन्दी र नेपाली संस्करण नेपालमा एकसाथ प्रदर्शन हुने भएको हाे । भारतमा पनि यो फिल्म हिन्दी संस्करणमा सोही दिन प्रदर्शन हुनेछ ।

भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१