काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले एमालेकै लोकतन्त्रमाथि प्रश्न रहेको बताए ।
तुलनात्मक रुपमा एमाले भन्दा कांग्रेस लोकतन्त्रवादी रहेको उनको भनाइ छ । आफूले पार्टीको संसदीय दलको नेताको चुनावमा सभापति शेरबहादुर देउवालाई भोट नहालेको भन्दै उनले भने, ‘गएको संसदीय दलको चुनावमा मैले सभापतिलाई भोट हालिन । तर, उहाँले मलाई सुत्रुतापूर्ण व्यवहार गर्नुहुन्न ।’
आफ्नो पार्टीमा रहेको यस्तो लोकतन्त्र एमालेमा नरहेको पौडेलको भनाइ छ । उनले अगाडि भने, ‘म तपाईँ (एमाले अध्यक्ष ओली) लाई सोध्न चाहन्छु । भीम रावल कहाँ हुनुहुन्छ ? घनश्याम भुसाल कहाँ हुनुहुन्छ ?’
यी प्रश्नहरु (एमाले पार्टीमा भएका अभ्यासले) ले लोकतन्त्र विकसित गर्ने प्रयासमा गम्भीर स्थिति सिर्जना गरेको पौडेलको भनाइ छ ।