राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अग्रपंक्तिमा रहेको बताएका छन्।

ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरूसित आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए।

उनले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको सम्झाउँदै सङ्घीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताए।

सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने उनको अडानले मुलुकमा राजनीतिक स्थीरता र संविधानको रक्षा हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई भेटी राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटेर ज्ञापनपत्र पेश गरेको थियो।

भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाका गरगहना लुट्नुका साथै चार जनाको हत्या गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो।साथै अन्य जिल्लामा पनि गरगहना लुटपाटका घटना घटेको र महिला असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१