काठमाडाैं । नेकपा एमालेका संसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा संसदमा जानकारी गराउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमण निकै महत्वपूर्ण रहेको भन्दै संसद चलिरहेको अवस्थामा प्रधानमन्त्रीले भारत भ्रमणका एजेण्डाका बारेमा जानकारी गराउनुपर्ने बताएका हुन् ।
भारत भ्रमण विषयमा सञ्चारमाध्यमबाट विभिन्न कुराहरु आइरहेका बेला प्रधानमन्त्रीले संसदलाई नछलि जानकारी गराउनुपर्ने उनले बताए । उनले संसदमा प्रधानमन्त्रीको अनुहार हेर्न र दर्शन पाउन पनि दुर्लभ भएको जिकीर गरे । पन्तले भारतसँग नेपालले भोग्नुपरेको समस्यामा बारेमा प्रधानमन्त्रीले स्पष्ट धारणा राख्न सक्नुपर्ने धारणा पनि राखे ।
बैठकमा कांग्रेस सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताए । उनले वन व्यवस्थापन कार्यविधि बनाएर वन जङ्गलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई उकास्नुपर्ने बताए ।
त्यस्तै, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संसदलाई प्रभावकारी बनाउनका लागि समितिको गठन तत्काल हुनुपर्ने र आवश्यक संघीय कानून संसदमा पेश गर्नुपर्ने बताए ।
त्यस्तै, सांसद सर्वेन्द्रनाथ शुक्लाले सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य लिएको भए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोे लक्ष्य पूरा गर्ने गरी काम गर्न नसकेको गुनासो गरे ।