• २०८३ असार १२
  • 2026 June 26, Friday

रवि लामिछान‍े भन्छन्- थपिएकाे मत थप जिम्मेवारी हाे

बधाई कार्यक्रम नराखिदिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् ।

बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको उनको भनाइ छ ।

थपिएको मतलाई थपिएको जिम्मेवारी भन्दै लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहिँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं ।’

चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रवि ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।

लोकतान्त्रिक प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारहरुलाई सदा साथमै लिएर चितवन २ का नागरिकको आकांक्षा पूरा गर्न सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले जनप्रतिनिधिको रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने उल्लेख गरेका छन् ।

चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको बताउँदै उनले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दल र तिनका कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन् ।