काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पाएको उपलब्धिविरुद्ध अनेक खालका शक्तिहरू सल्बलाउन थालेको बताएका छन् ।
जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनता गम्भीर हुनुपर्ने अवस्था आएको उनले बताए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अनुकूल परिस्थिति आयो कि आएन भनेर दुलोबाट हेरिरहेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्र र जनताले पाएको उपलब्धिको विरुद्ध, अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन् । कोही कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि । अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् । नेपाली जनता सजक हुनुपर्छ ।’
आफूले सरकार छाडेको दुई वर्ष नपुग्दै सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप पनि ओलीले लगाए । यो सरकारले विकास निर्माण, सामाजिक निर्माणको काममा ध्यान नदिएकाे उनकाे भनाइ छ ।
पछिल्लाे पूर्वराजाबारे ओलीले टिप्पणी गरिरहेका छन् । उनले कहिले पूर्वराजाले परिवारका अन्य सदस्य अगाडि सारेर सलबलाउन थालेकाे टिप्पणी गरिरहेका छन् भने कहिले राजा मन पराउनेहरु बुद्धि नभएका भनी टिप्पणी गरिरहेका छन् ।