भ्रष्टाचारका सबै प्रकरणहरुको अनुसन्धान गर्न प्रतिबद्ध छु : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणहरुको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दै भ्रष्टाचारका सबै प्रकरणहरुको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै उनले यस प्रकरणमामात्र नभई भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुने उनकाे जिकिर थियाे ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रुपमा काम गरिरहेको उनकाे भनाइ छ ।

उनले प्रहरीलाई राजनीतिक दवाव वा अवान्छनीय प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न निर्देशन दिएको बताए । निर्दोष नफस्ने र दोषी नछुट्ने गरि प्रहरीले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए ।

श्रेष्ठले प्रमाणका आधारमा बिभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाले अनुसन्धानले पुष्टि गरेको आधारमा कारवाहीको दायरा बढाउने सरकारको प्रतिबद्धता रहेको पनि जानकारी दिए । उनले संसद र सडकबाट भएको भ्रष्टाचार विरोधी कदमको समर्थन रहेको भन्दै सरकार कुनै दवाबको अगाडी नझुक्ने स्पष्ट पारे ।

उनले भ्रष्टाचार र कमिशनको जालोले देशलाई बर्वाद पारेको भन्दै राज्यका सबै निकायहरुले यसलाई केन्द्रमा राखेर समाधान गर्नुपर्ने पनि बताए । बैठकमा कांग्रेस सांसद विश्वप्रकाश शर्माले दोषी नछुट्ने र निर्दोष नफस्ने बिषयमा सबै सजक रहेको भन्दै सरकारले गरेको अनुसन्धानमा सबैको साथ रहेको बताए ।

त्यस्तै, बैठकमा समिति सदस्यहरुले समितिको काम कारवाहीलाई प्रभावकारी बनाउनुपर्ने र दिएका निर्देशनका साथै सुझावहरुलाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए भने उपप्रधानमन्त्री श्रेष्ठले समितिले दिएका सुझावहरुलाई सरकारले गम्भीर रुपमा लिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।