• २०८३ असार १३
  • 2026 June 27, Saturday

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षडयन्त्र भएकाे छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षडयन्त्र नभएको स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा एमाले निकट राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै श्रेष्ठले प्रहरीलाई राजनीतिक लगाएत कुनैपनि दवाव वा प्रभावमा मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै षडयन्त्र नभएको स्पष्ट पारेका हुन् ।

यस प्रकरणमा आशंकका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमाथि आँच आउने काम गर्न नहुने र कोही दोषीले छुट्कारा पाउन नहुने उनले बताए । उनले यस प्रकरणमा थुप्रै व्यक्तिहरुको नाम आएको र एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी रहेको जानकारी दिए ।

प्रहरीले आफ्नो अनुसन्धान बयान मात्रै नभइ तथ्यप्रमाणका आधारमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । श्रेष्ठले यस प्रकरण सामान्य भ्रष्टाचारको विषयमात्रै नभए राज्य विरुद्धको अपराध भएकाले त्यही ढंगले अघि बढ्नुपर्ने जिकीर गरे ।

युवा संघले मानव तस्करीको समग्र पक्षमा नगइ अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ भएको काम कारवाहीको छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संगठनले अभियुक्तहरुको बयानलाइ लिएर एमालेका नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत आरोप लगाउने, बदनाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारवाही गर्ने गराउने र राजनीतिक प्रतिशोध लिने तहसम्मको षडउन्त्र भएको महसुस भएको जनाएको छ । उनीहरुले यस प्रकरणमा राजनीतिक रंग नदिन समेत माग गरेका छन् ।