टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ, म सघाउन तयार छु : रेशम चाैधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । त्यसका लागि आफूले पनि सघाउने उनले बताए ।

आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले पनि न्याय पाउनुपर्ने बताए ।

डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ । उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो । उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ ।’

आफ्नो श्रीमान, छोरा र दाजुभाइको देहान्त कसरी भयो भन्ने थाहा पाउने चेष्टा गर्नैपर्ने बताउँदै उनले भने, ‘म पनि उहाँहरुलाई सघाउन चाहान्छु र सिंगो नागरिक उन्मुक्ति पार्टी पनि उहाँहरुलाई सघाउन चाहान्छ ।’

आफूहरु आन्दोलनकर्मी र टिकापुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै उनले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने समेत बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१