सुगौली सन्धि पछिको नेपालको नक्सा नै हाम्रो औपचारिक पोजिसन हो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले नेपालले जारी गरेको नयाँ नक्साको सम्मान गर्नुपर्ने भन्दै यर्थाथ भन्दा बाहिर गएर महत्वाकांक्षी बन्न नहुने बताएका छन् ।

सोमवार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले हाल सर्वत्र चर्चामा रहेको ग्रेटर नेपालको नक्साबारे स्पस्ट पार्दै सीमाङ्कनका आधारमा नेपालले जारी गरेको चुच्चे नक्साको भारतले पनि सम्मान गर्नुपर्ने धारणा राखे ।

‘आजको नेपालको सन्र्दर्भको सीमाङ्कनको सन्दर्भ छ,त्यो चाँही आधुनिक विश्वका परिप्रेक्ष्यको जे अवस्था छ त्यसको प्रति भारतले पनि सम्मान गर्नुपर्दछ । उसको महत्वकांक्षा अहिलेको यर्थाथ भन्दा बाहीर गएर प्रकट हुनुहुँदैन’ पोखरेलले भने ।

उनले सुगौली सन्धि पूर्वको ग्रेटर नेपालको नक्साको सन्दर्भमा उठेको प्रश्नबारे जवाफ दिदै उक्त नक्सा नेपालीको गौरव गर्न लायक इतिहासको रुपमा सीमित रहेको स्पस्ट पारे ।
त्यस्तै उनले सुगौली सन्धि पछिको सीमाङ्कन गरिएको नक्सा नै आजको यर्थात सत्य भएको स्मरण गराउँदै सो नक्सा नै नेपालीको अधिकार भएको बताए ।

उनले भने, ‘सुगौली सन्धिले जुन प्रकारको सीमाङ्कन गरेको छ, त्यो सीमाङ्कनलाई हामीले हाम्रो राजनीतिक सीमाङ्कनका रुपमा दावी गर्दै आएका छौं, त्यो कुरा आजको यर्थाथ हो । जसका आधारमा हामीले गुमेको भूभागलाई समेटर नयाँ नक्सा प्रकाशित गरेका छौं त्यो हाम्रो अधिकारको कुरा हो ।’

उनले सुगौली सन्धि पछिको नेपालको भूभाग समेटेर बनाईएको नक्सालाई नै नेपालको राजनीतिक नक्साको रुपमा प्रस्तुत गर्दै आएको र त्यहि नै नेपालको औपचारिक पोजिसन भएको स्पस्ट पारे ।