• २०८३ असार १३
  • 2026 June 27, Saturday

माओवादीले हेपेको महसुस गरेपछि संगठन विस्तारमा लागे बाबुराम

काठमाडौं-

 

पूर्वमाओवादी घटक र विचार मिल्ने केही कम्युनिस्ट दललाई एकै ठाउँमा उभ्याउने योजनासहित ‘समाजवादी मोर्चा’ गठन तयारी भइरहेका बेला नेपाल समाजवादी पार्टी संगठन विस्तारमा लागेको छ। नेसपा अध्यक्ष डा बाबुराम भट्टराईले गृहजिल्ला गोरखा पुगेर ६ महिने संगठन अभियान सुरुवात गरेका छन्।

उनी दुई दिनमा जिल्लाको क्षेत्र नम्बर २ का प्रायः सबै वडा पुगे। भट्टराईको सचिवालयका अनुसार आगामी मंसिरसम्मका लागि नयाँ संगठन बनाउने र विस्तार गर्ने कार्य अघि बढाइएको छ।माओवादीका नेताहरुका कारण बलियो बन्नुपर्ने अवस्था आएको नेसपाका नेता बताउँछन्। एकले अर्कालाई सम्मान गर्नुको साटो बलियो र निर्धा भनेर व्यवहार गरिएको उनीहरुको गुनासो छ।

 

‘माओवादीका नेताहरुले हेप्ने, अपमान गर्ने, घेराबन्दी गर्ने, तारबन्दी गरे,’ नेसपाका एक नेताले भने, ‘उनीहरुमा अझै दम्भ घटेको छैन। संख्याको हिसाब गरेर खिसीट्युरी गर्न थालेपछि बलियो बन्ने प्रयासमा जुटेका हौं। माओवादी केन्द्र र नेसपालाई रुपान्तरण गर्दै नयाँ शिराबाट अघि बढ्ने सहमति समेत पालना भएन।’

 

हदै भएपछि पार्टी बलियो बनाउनु नै एक मात्र विकल्प रहेको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए। प्रचण्डले निर्वाचन क्षेत्रमा गएर जनतालाई नभेटेको गुनासो मतदाताबाट आएको उनको भनाइ छ।

 

‘२ नम्बर क्षेत्रका मानिसले प्रचण्डलाई भेट्न नपाएपछि असन्तुष्ट रहेछन्,’ पोखरेलले भने, ‘डा साबको आफ्नै क्षेत्र भएकोले उहाँलाई खोज्ने नै भए। डा साबले प्रत्येक महिना गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने नीति नै बनाउनुभएको छ।’