• २०८३ असार १३
  • 2026 June 27, Saturday

उनीजन्य वस्तुको निर्यातमा लगाएको भ्याट हटाउनुपर्ने सांसद पराजुलीको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उनीजन्य वस्तुको कच्चा पदार्थमा सरकारले थप गरेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन आग्रह गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजित विधेयक २०८०/०८१ अन्र्तगत उद्योग वाणिज्य तथा आपूर्ति शीर्षकको छलफलमा सहभागी हुदै उनले उद्योग वाणिज्य तथा आपूर्तिको क्षेत्रमा नौ अर्ब रकम विनियोजित गरी यो क्षेत्रमा सुधारको प्रयास सरकारले गर्न खोजेको देखिएको बताए । तर सरकारले कृषिजन्य वस्तु र उनीजन्य कच्चा पदार्थ निर्यातमा भ्याट बढाएर जनतामा निरासा थपेको उनको भनाइ थियो ।

निर्यात प्रवद्र्धनको लागि व्यापार प्रवद्र्धन सहित धेरै क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने सुझाएका सांसद पराजुलीले निर्यातमा राम्रो योगदान गर्दै आएका उनजन्य वस्तुमा सरकारले १३ प्रतिशत भ्याट बढाएको प्रति असहमति जनाउँदै अबिलम्ब कर हटाउन सरकारलाई आग्रह गरे ।

उनले भने,‘निजी क्षेत्रको प्रयासमा मात्र निर्यात हुदै आएका वस्तुमा सरकारले निर्यात बढाउन व्यापार प्रवद्र्धन सहित धेरै क्षेत्रमा राज्यले निकै लगानी बढाउनुपर्नेे आवश्यकता छ । तर, विडम्बना निर्यातमा राम्रो योगदान दिदै आएका उनीजन्य वस्तुको कच्चा पदार्थमा सहज पहुँच बनाउनुपर्नेमा उल्टो १३ प्रतिशत भ्याट लगाएर लागत वृद्धि गराउन राज्य लागिपरेको छ । यसले निर्यातलाई नकारात्मक असर पर्ने भएकाले लगाईएको भ्याट अबिलम्ब खारेज गर्न आग्रह गर्दछु ।’

त्यस्तै सांसद पराजुलीले नेपाल गुणस्तर तथा नापतौल विभागलाई दक्ष जनशक्ति सहित अन्तर्राष्ट्रिय मान्यता र मापद्दण्ड प्राप्त प्रमाणपत्र जारी गर्न सक्ने क्षमताको विकास गर्न ढिला भैसकेको उल्लेख गर्दै त्यसतर्फ मन्त्रीको ध्यान जानुपर्ने बताए।

‘विशेषगरि आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न नेपाल गुणस्तर तयार गर्ने भनेर विनियोजित गरेको बजेट न्यून छ । अन्तर्राष्ट्रिय प्रयोगशालाको मान्यता प्राप्तलाई तीव्रता दिएर जारी गरिने गुणस्तर मापन प्रमाणपत्रले अन्तर्राष्ट्रिय स्वीकार्यता हुने हुदा निर्यातलाई निकै सहज र लागत घटाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सहयोग पुग्ने हुदा त्यसतर्फ ध्यानाकर्षण गराउँछु ।’