• २०८३ असार १३
  • 2026 June 27, Saturday

न्यायलयलाई विकृतिविहीन नबनाएसम्म नेपाल बारको आन्दोलन रोकिदैन् : अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले नेपाल बार विकृतिविहीन न्यायपालिकाको पक्षमा रहेको प्रष्ट पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र कानून व्यवसायी मञ्चले नेपाल बार एसोसिएसनमा दलीय सिण्डिकेट हावी भएको भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष घिमिरेले विकृतिविहीन न्यायपालिकाको अभियानमा सदैव लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने ‘ मञ्चले उठाएको माग हाम्रो पनि माग हो, सुधारको मुद्दा बोकेर अघि बढेका छौं, हामी विकृति विहीन न्यायपालिका, भ्रष्टाचारविहीन न्यायपालिका बनाउनको लागि हामी लागिपरेका छौ । नेपाल बार एशोसियशनको यो एउटा अभियान हो । यो कुनै व्यक्तिको अभियान हुन सक्दैन् । त्यसैले गर्दा हिजो देखि सुरु भएको बारको आन्दोलन, आज पनि जारी छ, भोलि हाम्रो कार्य समिति रहदाँसम्म चल्ने छ र पछि पनि चल्ने छ । यो सधैँ बगिराख्ने एउटा अभियान हो । जति बेलासम्म न्यायालय शुद्ध हुदैँन र सक्षम व्यक्तिहरुद्धारा न्यायालय अगाडि बढ्दैन् । त्यति बेलासम्म हाम्रो अभियान चल्छ । ’

मञ्चले नेपाल बार एसोसिएसनमा सदस्य हुनका लागि सिफारिस गर्नुपर्ने व्यवस्था र दलीय सिन्डीकेटका विरुद्धमा उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

मञ्चको ज्ञापनपत्रमा नेपाल बारको अभियानसँग सम्बन्धित विषय नै समावेश भएको भन्दै अध्यक्ष घिमिरेले यो सबैको साझा विषय भएकोले यसलाई पूरा गर्न लागि पर्ने प्रतिवद्धता जनाए ।

उनले न्यायको पक्षमा स्वतन्त्र भएर काम गर्ने र न्यायपालिकाको हकको रक्षाको लागि काम गर्ने व्यक्तिहरुले कुनै राजनीति पार्टीको कार्यक्रममा सहभागी भएर बोल्न नहुने पनि धारणा पनि राखे ।