
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धेरै नेपाली भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा अध्यक्ष नेपालले बिभिन्न ठाउँमा कर्मचारीहरुको अभावले धेरै कुर्नु पर्ने स्थिति रहेको सुन्नमा आएको भन्दै अवैतनिक राजदूतका माध्यमबाट समयमै राहदानी नवीकरण गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘विदेशमा रहेका नेपाली दूतावासहरुले छिटो राहदानी खरिदमा देखाएका विकृति, विसंगतिमा तपाईहरुको ध्यान कति गएको छ ? बिभिन्न ठाउँमा कर्मचारीहरुको अभावले धेरै कुर्नु पर्ने स्थिति छ । त्यसैले जहाँ नेपालीहरुको सङख्या धेरै छ । त्यहाँ पैसा नदिई अवैतनिक रुपले गर्न सकिन्छ । यस सम्बन्धी पनि कसरी सोचिरहेको छ ?’
अध्यक्ष नेपालले समयमै राहदानी खरिद गर्न सके कम मूल्य पर्ने पनि बताए । उनले समयमै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरूले बढाउँदै लैजाने गरेको पनि टिप्पणी गरे ।