• २०८३ असार १४
  • 2026 June 28, Sunday

सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको बताएकी छिन् ।

आज मंगलवार प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदैँ उनले भूमिहिनहरुसँग परामर्श लिएर जग्गा दर्ता गर्ने र लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढेको बताइन् ।

‘भूमिहीनसँग जग्गा दर्ता गर्ने र हस्तान्तरण गर्ने विषयसँग सम्बन्धित भूमि आयोगमा छलफल चलिरहेको छ ।’ उनले भनिन्, ‘विभिन्न जिल्लाहरुमा गएर भूमिहीन, दलित भूमिहीन सुकुम्बासीसँग परामर्श लिएर जग्गा दर्ता गरेर लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढाई रहेका छौ । ’

सांसद विना लामाले उठाएको प्रश्नको जवाफ दिदैँ उनले वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने र जग्गा दर्ता गराउने कार्य अगाडी बढाउने काम भएको बताइन् ।

उनले भनिन्, ‘गुठि व्यवस्थापन र सुकुम्बासीको विषयमा हामीले मन्त्रालयमा वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने कार्यतिर हामी लागेका छौ र यसका लागि अगाडी बढिरहेका छाैँ ।’

सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटबारे सोधेको प्रश्नमा उनले जग्गाको लालपूर्जा वितरण कार्य अगाडी बढेको उल्लेख गर्दै कित्ता काट र भूउपयोगको नीति नहुदाँ खेती योग्य जमिन सुरक्षित नभएको हुदाँ कृषि योग्य जमिन छुट्याएर कित्ताकाट गर्ने गरी तयारी गरिएको बताइन् ।