काठमाडौं । सांसद अमरेशकुमार सिंहले गरीब जनतालाई पनि ऋण उपलब्ध गराइनु पर्ने बताएका छन् ।
आईतवार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै उनले किसान दलितलगायतलाई पनि ऋण उपलब्ध गराउन माग गरे । उनले भने ‘जति पनि बैंक छन्, ती बैंकहरू ठूला व्यापारीहरूका लागि मात्रै छन्। नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन् । गरीब किसान, दलित, चेपाङ कहाँ त आउँदैनन् । जगदम्बा ग्रुपले कति ऋण लिएको छ, चौधरी ग्रुपले कति ऋण लिएको छ, ज्योति ग्रुपले कति ऋण लिएको छ? ठूलाले अर्बौंमा ऋण लिने, त्यो गाउँको गरीबलाई एक लाख ऋण दिन्छ? बिना धितो ऋण दिन्छ? दिँदैन नि!’
व्यापारीहरूले अर्बौंको ऋण पाए पनि गरिबले एक लाख पनि नपाएकै कारण उनीहरू मिटरब्याजमा ऋण लिन बाध्य हुने गरेको उनको भनाइ थियो । यसका लागि बैंकले गाउँ–गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने उनको भनाई छ ।