• २०८३ असार १४
  • 2026 June 28, Sunday

शिक्षा क्षेत्रको सुधारमा हामी चुक्यौ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले मुलुकमा राजनीतिक परिवर्तन भएपनि शिक्षा क्षेत्रको सुधारमा सरकार चुकेको बताएका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्ती तथा जीपी कोइराला मेमोरीयल (सामुदायीक) कलेजको १२ औं वार्षिक उत्सवका अवसरमा आज (सोमबार) आयाेजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘नेपाली नागरिकको जीवन बदल्ने सन्दर्भमा हामी चुकेको एउटा महत्वपूर्ण क्षेत्र भनेको शिक्षा क्षेत्र पनि हो । गएको १०-१२ वर्षको विद्यालय शिक्षाको अवस्था हेर्ने हो भने ओरालो झर्दै गएको छ ।’

थापाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर तत्काल शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्दै ऐन पारित गर्न साथ दिने बताए । ‘यहि संसदभित्र हामीले अनेकौं काम गर्यौ । तर, विद्यालय शिक्षालाई व्यवस्थित गर्ने संघीय शिक्षा ऐन हामीले बनाउनुपर्ने कुरा जहाँबाट प्रारम्भ गर्नुपर्ने थियो त्यो नै गरेनौ । जसकारण संघीय व्यवस्थामा गै सके पछाडि पनि शिक्षाका व्यवस्थापन गर्ने आधारभूत कुराहरुबाट हामी चुकेका छौं,’ थापाले भने ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री थापाले उच्च प्राथमिकतामा राखेर तत्काल संसदमा शिक्षा ऐन (विधेयक) ल्याइनुपर्नेमा जोड दिए । त्यसलाई उच्च प्राथमिकता दिएर पारित गर्नेुपर्ने धारणा राख्दै थापाले कार्यक्रममा सहभागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् ।

विश्वविद्यालयहरूको अवस्था कहाली लाग्दो रहेको जनाउँदै महामन्त्री थापाले रानीतिको चङ्गुलबाट विश्वविद्यालयलाई मुक्त गराउन विश्वविद्यालय ऐन ल्यायनुपर्नेमा पनि जोड दिए । ‘अहिले ऐतिहासिक निर्णय गर्नेबेला आएको छ, हाम्रो विश्वविद्यालयलाई राजनीतिक दलसंग शतप्रतिसत अलग गर्नुपर्छ,’महामन्त्री थापाले भने । प्राध्यापक, कर्मचारी, विद्यार्थीहरु राजनीतिक रुपले सचेत छन् र रहनुपर्नेमा जोड दिंदै थापाले थपे,‘त्यहाँ संघर्ष हुन्छ,प्रतिस्पर्धा,राजनीति सबै हुन्छ तर, दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाईदैन भन्ने कुरालाई स्थापित गर्नै पर्छ । यसका निम्ती भावनाले मात्र हुँदैन कानून चाहिन्छ । विश्वविद्यालय ऐन ल्यउनुर्छ ।’

विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम राखेका छन् । हिंसात्मक आन्दोलनमा रहेको तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएसँगै कोइरालाको राष्ट्रियस्तरमा मात्र होइन अन्तरार्ष्ट्रिय क्षेत्रमा पनि छवि उच्च बन्न पुगेको थियो । २०४६को राजनीतिकपछि पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुको साथै २०५३ साल देखि २०६६ सालसम्म कांग्रेस सभापतिको जिम्मेवारीमा थिए ।