• २०८३ असार १४
  • 2026 June 28, Sunday

एमालेद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग, संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले भने ‘ नैतिकताको आधारमा अब उहाँले प्रधानमन्त्रीको पदमा बस्न उपयुक्त हुँदैन । उहाँले राजीनामा दिनुपर्छ । उहाँले नेपालको आवश्यकता र हितहरुलाई नेपालको राजनीति र कुटनीतिक समस्याहरुलाई त्यसलाई भारतमा समाधान गर्न सक्नुभएन त्यतिकै आउनु भयो १० हजार मेगावाट ल्याए भनेर आज त्यसका लागि पनि सर्त गरे भन्दा खेरी सर्त कुनै पनि तेस्रो देशले त्यसमा लगानी गरेको हुनुहुदैन अर्थात नेपालको जलस्रोत एकलौटी भारतको कब्जामा जाने नीति मानेर आउनु भो । हामीले प्रश्न उठायौं किन यस्तो गर्नुभयो भनेर तर उहाँले आज दिल खोलेर भन्नु भयो कि नेपालको प्रधानमन्त्री बनाउन दिल्ली जानु पर्छ । त्यसैले यो नेपाली जनतालाई सैह्य छैन । बारम्बर प्रश्न गर्दा जवाफ आएन । ’

सांसद पन्तको भनाइपछि एमालेले बैठक सञ्चालनमा अवरोध पुर्याएको थियो । अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।