• २०८३ असार १४
  • 2026 June 28, Sunday

स्वास्थ्य सेवामा सरल पहुँचका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा सरकार गम्भीर रहेको बताएका छन् ।

शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनशक्ति व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि सरकार गम्भीर रहेको बताएका हुन् ।

त्यसका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

उनले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताएका हुन् ।

‘ वि.सं २०१३ सालमा सोल्जर बोर्ड अस्पतालको रुपमा स्थापना भएको यस अस्पताल निरन्तर क्षमता वृद्धि हुँदै ५०० श्ययाको अस्पतालका साथसाथै चिकित्शाशास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रुपमा विकसित भएको छ । प्रतिष्ठानबाट गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुनुका साथै सहज र सुलभ रूपमा चिकित्सा शिक्षासमेतको अध्यापन हुनु आफैमा गौरवको विषय हो । अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा यस प्रतिष्ठानबाट थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छु’’ प्रधानमन्त्रीले भने । ’

उनले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनेछ भन्ने पनि विश्वास लिएको बताएका छन् ।