• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रितम सिंहको बारेमा प्रधानमन्त्री दाहालले झुठ बोलेको अध्यक्ष ओलीको जिकिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रितम सिंहको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झुठ बोलेको जिकिर गरेका छन् ।

शुक्रबार अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रितम सिंह दिल्ली नै नगएको दावी गरे ।

उनले भने ‘ प्रितम सिंहलाई पनि उहाँले वेकार मुछ्नु भयो । प्रितम सिंह दिल्ली नै जानु भएको छैन तर दिल्ली जानु भयो मलाई प्रधानमन्त्री बनाउन भनेर उहाँले झुट बोल्नु भो । ’

अध्यक्ष ओलीले नेपालको सार्वभौम सत्ता विपरित कार्य गर्न हुँदैन भन्ने भारतलाई पनि थाहा भएको उल्लेख गर्दै दाहालले राष्ट्रियतामाथि भद्दा मजाक उडाएको आरोप लगाए ।

उनले भने ‘ मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउछु भनेर अहिलेसम्म भनेको छैन । त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरित हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् कि नेपालको सार्वभौमसत्ता नेपालको संसद र जनतामा छैन । नेपालको सांसदहरुले नेपाली संसदले सरकार बनाउने हैन दिल्ली दौडिएर सरकार बन्छ । धेरै पल्ट मलाई प्रधानमन्त्री बनाउन पनि मान्छेहरु पुगेका थिए । राष्ट्रियता माथि मजाक उ्डाईएको छ । यो अति भो । ’