
काठमाडौं । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् ।
आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका छन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्ने बताएकी छन् ।
‘२० वर्षमुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो,’ आफ्नो आधिकारिक फेसबुक पेजमा अभिनेत्री रेखा लेख्छिन्, ‘को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’
नायिका ॠचा शर्माले पनि नाबालिग बलात्कार प्रकरणमा मुख खोलेकी छन् । शर्माले १८ वर्षमुनिका नाबालिगसँग यौन सम्बन्ध राख्नु बलात्कार भएको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नायिका शर्माले मुलुकी अपराध संहिताका अनुसार १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार भएको ठहर्ने बताएकी हुन् । नाबालिगको संरक्षण गर्नु नै कानुनको सम्मान भएको समेत बताउँदै उनले समाजले नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर नाबालिगको चरित्र हत्या गर्न पनि नसक्ने विश्वास व्यक्त गरेकी छन् ।
कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको भएको उनको भनाइ छ ।
‘मुलुकी अपराध संहिताले भन्छ ‘१८ वर्षमुनिका सँग यौन सम्बन्ध राख्नु बलात्कार हो ।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौँ नि। हैन र ?’, ऋचाले प्रश्नसमेत गरेकी छिन् ।