• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चित्रकलामा धार्चे, पर्यटन प्रवर्धनमा कलाकर्मीको जोडबल

काठमाडौं । गोरखाको पर्यटकीय गाउँ धार्चेको प्रचारका लागि काठमाडौंमा कलाकर्मी जुटेका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिकाको आयोजनामा सोमबारदेखि ‘धार्चे चित्रकला कार्यशाला’ सुरु भएको हो ।

२०७२ सालको भूकम्पबाट मुख्य रूपमा प्रभावित उक्त क्षेत्रको समाज, जीवनशैली, कला, संस्कृति तथा भूगोललाई पर्यापर्यटनसँग जोड्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । यसअन्तर्गत कलाकारलाई गाउँपालिकाको अवलोकन भ्रमण गराइ आफ्ना दृष्टिकोण र भावनालाई कलाकृतिमा उतार्ने योजना गाउँपालिकाको हो ।कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले ‘सुन्दर संरक्षित, समृद्ध धार्चे’ भन्ने नाराका साथ आयोजित कार्यशाला धार्चेका लागि लाभकारी हुने विश्वास व्यक्त गरे ।

कार्यशालामा २० भन्दा बढी कलाकार सहभागी छन् । प्रतिष्ठानको लोककला विभागका प्रमुख प्रदीप अधिकारीले धार्चे गाउँपालिकाले संस्कृति र कलाको महत्व बुझेर चित्रकला कार्यशाला गर्न तदारुकता देखाउनु प्रशंसनीय भएको बताए । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष तथा सहभागी कलाकार केशवराज खनालले पालिकाको पर्यापर्यटन, मौलिक सम्पदा, जीवनशैलीलाई कलाकारले आफ्ना सिर्जनामा उतार्ने बताए ।

कार्यशालामा प्राज्ञ प्रदीप अधिकारी, मन गुरुङ, केशवराज खनाल, एनबी. गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, दीपेन्द्रमान बनेपाली, डीबी राई, लीलाधर केसी, बिके नरबहादुर, सुरेम देसार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ, सारा तुनिंचं् कोइंच्, (दुर्गा सुनुवार), कोपिला राई, विकास गुरुङलगायतका कलाकारहरुले सहभागी छन् । कार्यशाला आगामी बुधबार सम्पन्न हुने छ ।