• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कठजोरमा बन्यो नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको सालिक सहितको पार्क

काठमाडौ । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको सालिक सहितको पार्क निर्माण भएको छ ।

अधिकारीको जन्म स्थल कठजोरको कठजोर चौरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो । वडा कार्यालयले नमुना (कृष्णलाल) पार्क निर्माण बनाएर उहाँ प्रति सम्मान प्रकट गरेको छ ।

विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२ कठाजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी त्यति बेला सुब्बाको जागिरे थिए । जागिरमा नै रहेका बेला उनले मकै खेती नामक पुस्तक लेखेका थिए ।मकैको खेती नामक पुस्तक लेखे बापत उनलाई विसं १९७७ साल साउन ११ गते राणाहरूले पक्राउ गरी जेलमा हाले उनको १९८० सालमा जेलमा नै निधन भयो । नेपाली इतिहासमा सो घटना मकै पर्वको नामले परिचित छ ।

सुब्बाले मकैको खेती नामक पुस्तकमा मकैलाई दुःख दिने रातो र सेतो टाउको गरेका किरा हुन्छ भनि लेखेका थिए । उनका विरोधीले रातो टाउके र सेतो टाउके भनेर रातो र सेतो क्याप लगाउने राणाहरूलाई भनेको हो भनि पोल लगाइदिएका थिए ।

अधिकारीको सम्झनामा चालु आर्थिक वर्षको नगर र वडाको साझेदारी योजना अन्तरगत ३० लाख रुपैँया बजेटबाट पार्क निर्माण गरिएको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । पार्क निर्माणका लागि वडाको १५ लाख र नगरको १५ लाख गरी ३० लाख रुपैँया खर्च गरेका छन् ।

सालिकसँगै पार्क निर्माण गरी त्यसलाई घेराबारा गरिएको छ । त्यस्तै सडकबाट पार्कसम्म पुग्ने सिँढी र रेलिङ बनाइएको छ ।