• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आफन्तसँग सम्बन्धका दरारहरु

मलाई दुई ढोका खुब प्यारो लाग्छन्। पहिलो आफ्नै घरको अनि अर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोका ।

जहाँबाट प्रारम्भ हुन्छ धेरैको धोका, हन्डर र ठक्करको यात्रा।

दूर र दूरीको प्रश्नले खुब सताई रहन्छन् आजकल। अमेरिकाको जीवन जेनतेन चली नै रहेको छ। सताउने भनेको सम्झनाले पनि त रहेछ। जति ठूलो शहरमा बसे पनि सपना चाहीँ बालापनमा आफू खेलेको चउर, डुल्ने पाखा पखेरा, साथीहरुको देखिँदो रहेछ।

सपनामा पुगेपछि बिसाउने चौतारी गाउँकै रहेछ। खोइ आजकल त भत्कायो कि क्याहो डोजरले ति छहारी मुनिको चौतारीहरु।

त्यो उमेरमा आफन्तले बोकाई दिएको घाँसको भारीको खुब याद आउँछ। तर, सफलताको बाटोमा अगाडि बढी रहँदा, संघर्षमा सहयोग नगरी थप खुट्टा तानेर आफ्नै तन र मन भारी बनाई दिँदा हल्का दुःख पनि त लाग्छ।

संवेग देखि आवेग नहुने मान्छे को होला ?

यो इर्ष्या भन्ने शब्दको अर्थ अहिले आफन्त शब्दकोषमा खोज्दै छु। चरम महत्वकांक्षाबाट उत्पत्ति हुँदो रहेछ यो पुस्तकको निर्माण।

कुनै दिन टेबलबाट पुस्तक खसेपछि सुरु हुँदो रहेछ आफन्तहरु सँगको सम्बन्धको दरार।

हाम्रो पुस्तकमा के लेखिएको थियो भन्ने कुराले हाम्रो पुस्तकको गहिराई थाहा हुने हो। न कि किताबी कभरले।