• २०८३ असार १३
  • 2026 June 27, Saturday

मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण

काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन् ।

वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो ।शालिकमा माल्यार्पण गर्दै मन्त्री सिंहले देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउनका लागि नेता सिंहको अविस्मरणीय योगदान रहेको बताए ।

जनताको अधिकारको सुनिश्चितता गराउनको लागि नेता सिंहले गरेको प्रतिवद्धतालाई सबैले स्मरण गर्दै अनुसरण गर्नुपर्ने मन्त्री सिंहको भनाइ थियो ।उनले भने, ‘उहाँको ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्षभन्दा बढि समय जेल जीवनमा विताउनुभयो । हरेक राजाको कार्यकालमा उहाँले जेल जीवन विताउनुभएको हो । त्यस्तै उहाँले १५ वर्षभन्दा बढी निर्वासनमा विताउनुभयो ।

देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउन, जनताको अधिकारको सुनिश्चितता गराउनको लागि उहाँको प्रतिवद्धता, समर्पणलाई आज स्मरण गर्न चाहान्छौं ।उहाँ नै एउटा यस्तो नेता हो जसले २०४६ सालको जन आन्दोलनपछि प्राप्त गरेको प्रजातन्त्र सबैको प्रयासबाट मात्र सम्भव भएको भन्दै सबैलाई समावेश गर्नुपर्छ भनेर भन्नुभयो । उहाँले कुनै वर्ग र क्षेत्रलाई मात्र नहेरी समग्र मुलुकको हित हेर्नुभएको थियो ।’नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो ।