• २०८३ असार १३
  • 2026 June 27, Saturday

‘ओलीजी, के तपाईं साँच्चै नेपालकै प्रधानमन्त्री हो ?’

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको वर्तमान संविधान दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने बताए ।

उनले भने, ‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन् । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन् । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु ।’

यसको साथै, उनले नेपाल सरकार र नेपालको प्रधानमन्त्री पनि नेपालको नभएको बताएका छन् ।
उनले भने, ‘कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ ? यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु ।

हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाईं साँच्चै नेपाल र नेपालीहरुको प्रधानमन्त्री हो भने ती सम्पत्ति कहाँ छन् ? त्यसको जवाफ दिनुहोस । नेपाली जनता जान्न चाहन्छन् ।’अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी भएको भन्दै यसले विदेशीहरुको पक्षपोषण गर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होइन, विदेशीहरुको पक्षपोषण गरेको छ । यहाँ विदेशी ईन्ट्रेष्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन् । म कुनै आग्रह वा पूवाग्रहमा हिँड्ने मान्छे पनि होइन । संविधान र व्यवस्थाको लागि ठूला ठूला लडाईं लडेको छु ।’

उनले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको भन्दै हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरु राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट भएको बताए ।उनले भने, ‘मैले यो कुरा आज भनेको होइन, आजभन्दा १० वर्षअघि नै भनेको थिएँ । नेपालमा अब लोकतन्त्र रहेन, यो त दलतन्त्र भयो भनेर भनेको थिएँ । लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ । नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरु डोमिनेट छन् । हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरु राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन् । मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरुको कारिन्दाको समारोह भनेको छु ।’