• २०८३ असार १३
  • 2026 June 27, Saturday

विकासका लागि केन्द्रको जस्तै गठबन्धन प्रदेशमा पनि हुनुपर्छ : मन्त्री गुप्ता

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विकासको काममा एकजुट हुन सबैलाई आग्रह गरेका छन् ।

मंगलबार मन्त्रीको सम्मानका लागि जिल्लाको पर्सागढी नगरपालिकाले आयोजना गरेको ‘स्वागत एवम् सम्मान कार्यक्रम’ मा उनले समग्र विकास निर्माणको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।उनले विकासका कामलाई द्रुत गतिमा अघि बढाउन केन्द्रमा नेकपा एमालेले निर्माण गरेकोजस्तै गठबन्धन प्रदेशमा पनि हुन जरुरी रहेको बताए ।

विकासका पूर्वाधारहरू अस्पताल, सडक र शिक्षामा सबैको सहकार्य हुनसके मात्रै स्थानीय जनताको जीवनस्तर राम्रो हुने भएकाले पर्सागढीको स्थानीय सरकारलाई सकारात्मक एजेण्डासहित मन्त्रालयसँग सहकार्य गर्न मन्त्री गुप्ताले आग्रह गरेका छन् ।विकासका लागि अहिलेको मुख्य एजेण्डा भनेको शिक्षा, स्वास्थ्य र सडकको प्रभावकारी व्यवस्थापन गर्नु रहेको पनि उनको भनाइ छ ।

आफू राजनीतिमा आएलगत्तै प्रतिनिधि सभा सदस्य निर्वाचित गराएको भन्दै उनले आफ्नो निर्वाचन क्षेत्र र सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद ज्ञापन गरे ।यसको साथै, उनले आफूलाई निर्वाचित गराएर जनताले लगाएको गुण तिर्न आफूले जिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।