• २०८३ असार १३
  • 2026 June 27, Saturday

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् ।

उनले सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको भन्दै अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने बताएका हुन् । उनले सहकारीको रकम अपचलन गरेको आरोपमा व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै चिन्ता पनि व्यक्त गरे ।उनले भने, ‘विगतमा विभिन्न प्रकरणमा विभिन्न व्यक्तिहरू अनुसन्धान र कारबाहीको दायरामा आइसकेका छन् ।

अहिले सहकारीको प्रसङ्ग उठेको छ । सहकारी ठगलाई कारबाही गर्दा मात्रै पीडितले न्याय पाउने कुरामा वर्तमान सरकार प्रष्ट छ । सहकारीको रकम दुरुपयोग अभियोगमा पक्राउ पर्नुभएका रवि लामिछानेविरुद्ध अनुसन्धान नै हुनुहुँदैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित भएको छ । अहिले त कस्तो देखियो भने सहकारी ठगलाई कारबाही नगर्ने हो भने यी दलहरू खुसी रहने र कारबाही प्रक्रिया अगाडि बढाउँदा दुःखी हुने अवस्था सृजना भयो । तर, सरकार अघि बढिसक्यो अब कोही पनि ठगहरूले उन्मुक्ति पाउने अवस्था छैन ।’फरक धार भनेर उदाएको पार्टीले नै सुशासनको पक्षमा भएको कामको विरोध गर्नु नेपाली जनताका लागि दुर्भाग्य भएको उनको भनाइ छ ।मन्त्री गुप्ताले यसअघि विभिन्न प्रकरणमा एमाले र कांग्रेसका उच्च तहका नेताहरूलाई समेत जेल चलान गरिएको र त्यस विषयमा ती पार्टीले कुनै पनि आन्दोलन नगरेको स्मरण पनि गराए ।उनले प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र दोषीलाई कारबाही गरेरै छाड्ने पनि बताए ।