• २०८३ असार १३
  • 2026 June 27, Saturday

एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन् : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।

आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन् ।उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरुमा दुईतीन ठाउँमा बस्न पाइन्न । एउटा व्यक्ति यतापनि छ उता पनि छ । अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन । यो कुरालाई कसरि सुधार गर्नुपर्छ तपाईहरुले ध्यान दिनुहोला । यो नियम कानून बनाउँदाखेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ । त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहेछ ।

अनि आफूले रिटायर्ड लाईफपछि पनि आफू अनुकुल हुनेगरि कानूनको ड्राफ्ट तयार गरिन्छन् । यसले गर्दा समस्या आएको हो । ’साथै उनले सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको बताए । उनले हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउन समेत आग्रह गरे ।उनले भने, ‘हामीले समाजवादी लक्ष्य लिएका छौं । सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको छ । त्यसलाई पूरा गर्नको निम्ति हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउने हो नि । हिजोको जटिलतालाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ ? अहिले मैंले भूमिसुधार आयोग बनाउने भनेर भनेको छु । अब हामी आयोग गठन गर्नेतिर जाँदैछौं ।’