काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताएका छन् ।टैरीमाई क्लबद्वारा आज बुधबार पर्साको जगतपुरमा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य आधारभूत मानव अधिकारको रूप भएकाले राज्यले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका हुन् ।
व्यक्ति, परिवार र समग्र समुदायको विकासका निम्ति शिक्षा र स्वास्थ्य सेवा अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ ।
‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तर कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ । नयाँ शैक्षिक संस्थाहरू खोल्ने भन्दा भएका संस्थाहरूको क्षमता वृद्धि गरी अघि बढ्नु उपयुक्त हुन्छ । यसले खर्च कम हुनाका साथै गुणस्तरमा पनि गुणात्मक विकास हुन्छ ’उनले भने ।शिक्षाले वर्तमान समयको आवश्यकता पूरा गर्न सक्नुपर्ने धारणा उनको छ । नेपालमा उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने भन्नुहुँदै उहाँले नेपालका लागि गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याए । नेपालको विद्यमान गरिबी, बेरोजगारी र अशिक्षा जस्ता समस्याको समाधान गर्न पनि गुणस्तरीय र व्यावहारिक शिक्षा आवश्यक रहेको उनले बताए ।
शिक्षा र स्वास्थ्यको उचित व्यवस्थापनले मात्रै नेपाली समाजमा समानता, सामाजिक न्याय र अवसरहरू सृजना हुने उनको भनाइ छ । मन्त्री गुप्ताले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि राज्य, गैरसरकारी संस्था र जनसमुदायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।यस्तै, मन्त्री गुप्ताले टैरीमाई क्लबले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताए । विगतको आठ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको क्लबले थुप्रै काम गरेको स्मरण उनले गरे । बालबालिकाले विद्यालयमा शिक्षकसँग ज्ञान लिएर मात्रै उसको शिक्षा पूरा नहुने चर्चा गर्नुहुँदै मन्त्री गुप्ताले बालबालिकाहरूलाई अभिभावकले पनि घरमा उचित शिक्षा दिनुपर्ने आवश्कता औंल्याए ।यस्तै, उनले सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बाध्यता रहेको बताए ।उनले भने, ‘देश दिनप्रतिदिन गरिब हुँदै गएको छ । थोरै लगानीमा पनि धेरै उपलब्धि हासिल गर्नुपर्ने अवस्थामा हामी छौँ । कार्यक्षमता विकास नै अहिलेको आवश्यकता हो ।’कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहान, उपप्रमुख रुबी ठाकुर, पूर्व नगरप्रमुख मन्टु रौनियार लगायतको उपस्थिति थियो ।