चीनसँग भएका सम्झौता तत्काल कार्यान्वयनमा लैजान विज्ञहरूको सुझाव

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा रहेकाबेला विज्ञहरुले भने चीनसँग यसअघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् ।

फ्रेन्डस अन द क्लाउड, प्लाटफर्म अफ इन्फ्लुयन्स नेपालले काठमाडौंमा गरेको आधुनिक जनवादी गणतन्त्र चीनसँग नेपालको द्वीपक्षिय सम्बन्ध विषयक गोष्ठीका वक्ताहरूले चीनसँग भएका सम्झौताको कार्यान्वयनमा भैरहेको विलम्ब, पूर्वाधार लगायत आधुनिक चीनको द्रुत विकासबाट नेपालले लिनसक्ने लाभबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा नेपाल चीन मामिलाका विज्ञ डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री केपी ओलीले नेपालबाट सद्भाव बोकेर बेइजिङ जानुपर्ने र बेइजिङबाट सद्भाव बोकेर नेपाल आउनुपर्ने धारणा राखे ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक विपिन देवले चिनियाँ नीति र परियोजनाबाट नेपालले प्रशस्तै फाइदा लिनसक्ने अवसरको उपयोग गर्नुपर्ने धारणा राखे । उनले परराष्ट्र मन्त्रालयको भुमिकालाई संकुचित पारी दुई दलीय संयन्त्रका आधारमा वैदेशिक सम्बन्ध चलाउन नहुनेसमेत बताए ।

कार्यक्रममा डा विष्णुराज उप्रेती, केशव सिग्देल, दिपक पान्डे, महेश दाहाल, सुरेन्द्र उप्रेती लगायतले २०१७ मा बिआरआई परियोजनामा हस्ताक्षर गरिसक्दा पनि राजनीतिक मतान्तर र राजनीतिक अस्थिरता ले कार्यान्वयनमा ढिलाइ भएपनि अब अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष शोभित उप्रेती र बाग्मती प्रदेशका सभामुख भुवन पाठकले दुई देशको सम्बन्धका बहुआयामिक पक्षमाथि चर्चा गर्दै सरकारले प्रधानमन्त्रीको भ्रमणलाई अवसरमा बदल्न सक्नुपर्ने धारणा राखे ।

अध्यक्ष उप्रेती र सभामुख पाठकले नेपाल र चीन दुव‌तर्फबाट सगरमाथाको आरोहण गरि कीर्तिमान राख्ने कल्पना महर्जनलाई २५ हजार नगदसहित सम्मान गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१