• २०८३ असार १३
  • 2026 June 27, Saturday

एनआरएनए उच्चस्तरीय समितिको बैठक बस्ने दिन कार्यालय बन्द, कार्यालय परिसरमा प्रहरी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्ने दिन मंगलबार बद्री केसी समूहले कार्यालय बन्द गरेको छ । बैठक बस्ने समयमा नेपाल न्यूज बैंकको टोली बालुवाटार पुग्दा एनआरएनएको मुख्यालय बन्द रहेको र प्रहरीले पहरा दिइरहेको थियो ।

केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएको बुझिएको छ । मंगलबार उच्चस्तरीय समितिको बैठक हुने दिन कार्यालय बन्द गरेर केसी पक्ष रणनीतिक बैठकमा जुटेको बताइएको छ ।घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको पाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘कार्यालय बन्द छ, हामीलाई सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउने जिम्मेवारी दिइएको हो । तर, बैठकको मिति तय भइसकेको अवस्थामा कार्यालय बन्द हुनु निन्दनीय हो’, उनले भने । उनका अनुसार आफूहरु कार्यालयमा आइसकेको भएपनि सम्पर्क गर्दा केसीसहित कसैसँग पनि सम्पर्क हुन सकेको छैन । केसी पनि समितिको सदस्य छन् । ३ बजे बैठक बस्ने तय भएको थियो तर घलेलगायतका समितिका सदस्यहरु कार्यालय खुला नभएकाले बाहिरकै हलमा केही समय बसेर नजिकैको एक रेष्टुरेन्टतर्फ लागेका थिए ।

केसी पक्ष भने कार्यालय बन्द गरेर बूढानीलकण्ठको एक रिसोर्टमा बैठक गरिरहेको स्रोतले जनाएको छ । घलेलाई असहयोग गर्ने नीतिअनुसार नै एकाएक बनावटी कार्यक्रम बनाएर बूढानीलकण्ठमा रिसोर्टमा कार्यक्रम गरेको समितिका सदस्यहरुले आरोप लगाएका छन् ।झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो । परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउन पहिलो बैठक राख्दा कार्यालय नै बन्द भएको सदस्यहरुको भनाइ छ। हाल एनआरएनएमा केसी पक्ष, बिनोद कुँवर पक्ष र आरके शर्मा पक्ष गरी तीन समूह सक्रिय छन्। समितिकी सदस्य रविना थापाले ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । यस्तै समितिका सदस्य कुल आचार्यले यो दुखद भएको जनाउँदै यस्ता गतिविधि गर्न बन्द गर्न सबैलाई चेतावनी दिए । यस्तै समितिकी सदस्य जानकी गुरुङले सबैको आस्था जोडिएको कार्यालय बन्द गरेर केसी पक्ष भाग्नु दुखद भएको जनाउदै निजी कम्पनी जसरी संस्था चलाइएकोप्रति समग्र गैर आवासीय नेपालीहरु दुखित भएको बताइन ।