• २०८३ असार १३
  • 2026 June 27, Saturday

महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले महाकाली सन्धिको नाममा पार्टीलाई विभाजित गर्ने प्रयास भइरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा पार्टीलाई बदनाम गर्ने कोशिस मात्र नभई विभाजित गर्ने समेत प्रयास भएको बताएका हुन् ।उनले भने, ‘पार्टीलाई समाप्त पार्नको लागि अनेक प्रकारको प्रपञ्च गरिएका छन् । पहिले महाकाली सन्धिको नाममा विभाजित गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि बास्तवमा नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो ।

नेपालको सन्दर्भमा जलस्रोतको उपयोगको सन्दर्भमा सबैभन्दा राष्ट्रवादी सन्धिका रुपमा एकीकृत महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोशिस मात्र भएन मात्र हाम्रो पार्टीलाई विभाजित गर्ने प्रयास भयो ।’उनले एमालेका पार्टीलाई समाप्त पार्न प्रयास भएता पनि कार्यकर्ताले पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भएको बताए ।
उनले भने,‘तर यही कार्यकर्ता पंक्तिजसले पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भयो । विभाजित गरिएको पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर राष्ट्रको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित गर्ने कुरामा यसले भूमिका खेलेको छ ।’