• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रधानमन्त्री ओलीको गुनासो: देशको ढुकुटी रित्तो छ, काम गर्छु भन्न पनि डर लाग्छ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको आर्थिक अवस्था कमजोर रहेको बताउँदै आफूले जस्तोसुकै काम गर्न पनि डराउनुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।

मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अघिल्ला कार्यकालमा देशको ढुकुटीमा पर्याप्त पैसा रहेको स्मरण गरे । उनले त्यही समयमा जे पनि गर्नुपर्छ भन्ने सोचसाथ धेरै विकासका कामहरू थालिएको बताए ।

‘अघिल्लो कार्यकालमा पैसा पर्याप्त थियो, स्वास्थ्य केन्द्रदेखि अन्य परियोजनासम्म काम थालेँ,’ उनले भने, ‘तर अहिले अवस्था त्यस्तो छैन । अब त जे गर्छु भन्ने पनि डर लाग्छ।’

उनले वर्तमान आर्थिक संकटका बीच कतिपयले ‘एक रुपैयाँ चन्दा उठाएर पार्टी अफिस बनाउने’ जस्ता अव्यवहारिक कुरा गरिरहेको भन्दै आलोचना पनि गरे । ‘एक एक रुपैयाँ चन्दा उठाएर पार्टी अफिस बनाउने भनिन्छ, तर त्यो सम्भव हुँदैन,’ उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले आफूले छोडेको विकासको काम त्यहीँ रोकिएको उल्लेख गर्दै, पैसाको अभावका कारण वर्तमानमा ठूलो आँट गर्न नसकिएको बताए । तथापि उनले अर्थतन्त्र अब ओरालो लाग्ने छैन भन्ने विश्वास व्यक्त गर्दै भविष्यप्रति आशावादी दृष्टिकोण पनि राखे ।

उनका अनुसार सिनेपा स्टुडियोका लागि आवश्यक जग्गा खोजी भइसकेको छ र बजेटसमेत विनियोजन गरिएको छ । उनले यो काम ६० वर्ष पर्खनुपर्ने नभएको स्पष्ट पार्दै नयाँ योजनाहरूको सुरुआत भएको जनाए ।