• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राज्यमन्त्री अरूण चौधरीको घरमा चोरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीको कैलालीस्थित निवासमा चोरी भएको छ। लम्किचुहा नगरपालिका–४ बलियामा रहेको पाँच तले घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिएका छन्।

प्रहरीका अनुसार मन्त्री चौधरीको घर करिब तीन महिनादेखि बन्द अवस्थामा थियो। बुधबार दिउँसो साढे ३ बजेतिर चोरी भएको सूचना प्राप्त भएको बताइएको छ। ‘चौधरीको दिदी नाता पर्ने व्यक्तिले चोरी भएको खबर गरेपछि घटना थाहा पायौं,’ डिएसपी सिंहले भने, ‘हाल घटनाको अनुसन्धान भइरहेको छ।’

प्रारम्भिक अनुसन्धानअनुसार चोरले घरको दोस्रो तलाको ग्रिल निकालेर भित्र पसेका थिए। चोरी भएको समय यकिन नठहरिए पनि परिवारका अनुसार सुनका औंठी, सिक्री, चाँदीका सामान र करिब ६५ हजार रुपैयाँ नगद चोरी भएको छ।

हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। चौधरी नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका सांसद समेत हुन्