• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गगन थापासँग छलफलपछि देउवाले डाके शीर्ष नेताहरूको आकस्मिक बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगन थापासँग बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। छलफलपछि देउवाले आज अपराह्न ४ बजे पार्टीका अन्य शीर्ष नेताहरूलाई पनि बुढानीलकण्ठमा छलफलका लागि बोलाएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा र थापाबीचको कुराकानी समसामयिक राजनीति र पार्टीको आन्तरिक मामिलामा केन्द्रित थियो। उनले आज अपराह्नको बैठकमा पनि यिनै विषयमा विस्तृत छलफल हुने जानकारी दिएका छन्।

कांग्रेसले आफ्ना १० भ्रातृ संगठनहरूलाई गत चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न अन्तिम समयसीमा तोकेको थियो। तर तीमध्ये ७ संगठनले महाधिवेशन गर्न सकेका छैनन्। अब ती संगठनहरूको तदर्थ समिति खारेज गर्ने कि म्याद थप्ने भन्ने विषयमा पनि बैठकमा निर्णय लिइने बताइएको छ।

एक पदाधिकारीका अनुसार कांग्रेस चार भ्रातृसंस्थाको तदर्थ समिति खारेज गर्ने र तीनलाई अझै महाधिवेशनको मौका दिने तयारीमा छ। साथै, केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठक बोलाउने विषय र पछिल्ला राजनीतिक घटनाक्रम तथा सरकारको समिक्षाबारे पनि छलफल हुने जनाइएको छ