सत्तारूढ नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको भनाइ भन्दै राजसंस्थासम्बन्धी भइरहेको प्रचारप्रति आपत्ति जनाएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा देउवाको भनाइका रूपमा फैलाइएको भ्रामक र मनगढन्ते समाचारको खण्डन गरिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संघीय, समावेशी र लोकतान्त्रिक गणतान्त्रिक संविधानको संरक्षण तथा प्रवर्द्धन गर्दै नागरिकलाई स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको शासन व्यवस्थाका लागि देउवा निरन्तर अग्रणी भूमिकामा रहँदै आएको जनाइएको छ।
राजसंस्थाबारे देउवाको भनाइ भन्दै झूटो सूचना फैलाइनु अनैतिक र आपत्तिजनक कार्य भएको उल्लेख गर्दै, उनले न भनेको, न बोलेको र न सोचेको कुरा संचारमाध्यममार्फत प्रचार गर्नु पत्रकारिताको मूल्य र मर्यादाविरुद्धको कार्य भएको कांग्रेसले स्पष्ट पारेको छ।
कांग्रेसले यस्ता कपोलकल्पित समाचारप्रति कडा आपत्ति जनाएको छ र प्राप्त उपलब्धिहरूको रक्षामा प्रतिबद्ध रहेको दोहोर्याउँदै आम नागरिकलाई यस्ता भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेको छ।