• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

युवा संघको अध्यक्षमा रस्साकस्सी: थेबेको निरन्तरता कि नयाँ अनुहार? ओलीको चाहना निर्णायक

नेकपा एमालेको युवा संगठन, राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमरसिंह चौरमा उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ भने आजै साँझदेखि पोखरा सभागृहमा बन्दसत्र सुरु हुनेछ ।

संघको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष क्षितिज थेबेसहित उपाध्यक्ष महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरी गरी ५ जनाले आकांक्षा देखाएका छन्।

थेबे, गुरुङ र पुरीलाई प्रमुख दाबेदार मानिएको छ। थेबेले सार्वजनिक रूपमा पुनः नदोहोरिने बताए पनि पार्टी पंक्ति, विशेषगरी अध्यक्ष ओली, उनलाई नै निरन्तरता दिन चाहन्छन्। ओली थेबेको कार्यकालमा भएका केपी ओली कप फुटबल र युवा महोत्सव जस्ता ठूला कार्यक्रमबाट प्रभावित भएकाले उनलाई दोहोर्याउन चाहेको बताइन्छ, जसले अन्य आकांक्षीलाई कठिन बनाउन सक्छ।
तर, संघका इन्चार्ज राजीव पहारी र पूर्वअध्यक्ष महेश बस्नेत लगायतका नेताहरू थेबेलाई रोक्ने प्रयासमा छन्। अधिकांश प्रतिनिधिहरूले निर्वाचन नहुने र पार्टी नेतृत्वको इच्छाअनुसार सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा गरेका छन्। थेबे पनि सर्वसम्मतिको अवस्थामा मात्र अध्यक्ष बन्ने, नत्र निर्वाचनमा नलड्ने उनका निकटस्थहरू बताउँछन्।

थेबेपछि महासचिव सुमन पुरी बलिया उम्मेदवार मानिन्छन्। पूर्वउपाध्यक्ष र वर्तमान महासचिवको अनुभव बोकेका उनी निर्वाचन लड्न पनि तयार छन्। उनी लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिने लीला गिरीका भान्जा हुन्। अर्का बलिया दाबेदार वर्तमान उपाध्यक्ष महाराज गुरुङ हुन्, जो पूर्वमन्त्री पार्वत गुरुङका भान्जा हुन् र थेबेको विकल्पमा नेतृत्वले उनलाई अघि सार्न सक्ने अनुमान छ। उपाध्यक्षद्वय प्रकाश गौतम र कृष्णहरि केसी (प्रवक्ता) ले पनि अध्यक्षमा दाबी गरेका छन्।
महाधिवेशनले १७ सदस्यीय पदाधिकारीलाई घटाएर ९ सदस्यीय बनाउनेछ, जसमा अध्यक्ष, एक महिलासहित दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार सचिव रहनेछन्। कुल १५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ र ४० वर्षे उमेर हद लागु हुनेछ। उपाध्यक्ष र महासचिव पदका लागि पनि हालका पदाधिकारी र सदस्यहरू आकांक्षी छन्। अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि हालसम्म ठोस निर्णय नआएको र आकांक्षीहरू लविङमा व्यस्त रहेको बताइएको छ।