
आगामी बर्खायाम सुरु हुने चरणमा पुगिसकेको छ। मनसुनसँगै पहिरो, बाढी, डुबान, सडक अबरुद्धजस्ता विपद् सम्भावनाहरू बढ्न सक्ने आँकलन गरिएको छ। यस्ता जोखिमलाई न्यूनिकरण गर्न पूर्वतयारी आवश्यक छ, तर विपद् आइपरेपछि राज्य संयन्त्र सबै ठाउँमा समयमै पुग्न सक्ने अवस्था प्रायः हुँदैन। यस्तो सन्दर्भमा निजी र सामुदायिक स्तरका संस्थाहरूको अग्रसरता अझ महत्वपूर्ण बन्न गएको छ। बागलुङमा यसै उद्देश्यले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले विपद् व्यवस्थापनमा राज्यको जिम्मेवारीसँग ऐक्यबद्ध हुँदै समुदायलाई प्रतिकार्यका लागि तयार पार्ने तालिम सम्पन्न गरेको छ।
शनिबार बागलुङ बजारमा सम्पन्न “विपद् व्यवस्थापन सिप विकास तालिम” सिवाईसी साकोसको आयोजनामा तथा चारतारे युवा क्लब सिवाईसी नेपालको सहकार्यमा गरिएको हो। तालिममा साकोस अन्तर्गत केन्द्रीय विपद् व्यवस्थापन उपसमिति र सेवा केन्द्र तहमा गठन गरिएका कार्यदलका गरी १३२ जना प्रतिनिधिहरूको सहभागिता थियो। उनीहरूलाई विपद् आउनु अघि आवश्यक तयारी, विपद्को समयमा गरिनुपर्ने तत्कालीन उद्धार कार्य, र विपद् पछिको पुनःस्थापना प्रक्रियासम्मको व्यवहारिक अभ्यास गराइयो ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सहकारी संस्थाहरूको यस्तो कदमलाई राज्य संयन्त्रको अभाव हुने स्थानमा टेवा पुग्ने उदाहरणीय अभ्यासको रूपमा उल्लेख गरे। उनले भने, “विपद्को व्यवस्थापनमा प्रभावकारी तयारी गर्न समुदाय, स्थानीय तह र संस्थाहरूबीचको समन्वय अत्यावश्यक हुन्छ। विपद् आइपरेपछि मात्र होइन, जोखिम न्यूनीकरणका लागि समयमै तयारीमा लाग्नु नै सबैभन्दा महत्वपूर्ण हो। सहकारी संस्थाले सामाजिक उत्तरदायित्व स्वरूप यस्तो अभ्यास गर्नु सकारात्मक र प्रेरणादायी कार्य हो।”
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका उपसभापति सीता शर्मा, उद्योग वाणिज्य संघ बागलुङका द्धितीय उपाध्यक्ष केशवप्रसाद वझालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
तालिममा सहभागीहरूलाई प्राथमिक उपचार, उद्धार, सुरक्षित स्थल व्यवस्थापन, जनचेतना अभिवृद्धि, र समन्वयात्मक कार्यको अभ्यास गराइएको थियो। सशस्त्र प्रहरी बल आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक दिलबहादुर रायमाझी, श्री कालिजङ गण घोडाबाँधेका सहायक सेनानी खगेन्द्र चन्द र बागलुङ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माले तालिमको सहजीकरण गरेका थिए। सहभागीहरूले व्यावहारिक रूपमा विपद् जोखिम पहिचान, तत्क्षण उद्धारको अभ्यास र सामूहिक कार्य समन्वयको अनुभव लिएका थिए।
सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले कार्यदल गठन गरेर सेवा केन्द्र स्तरमै जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिए। उनले भने, “हामीले समुदायस्तरमै संरचना खडा गरेर प्रतिकार्य क्षमतामा सुधार ल्याउने अभ्यास थालेका छौं। यो नेपालको सहकारी क्षेत्रमा पहिलोपटक यसरी संस्थागत रूपमा गरिएको अभ्यास हो।”
उनले आपतकालीन परिस्थितिमा सदस्यहरूले तत्काल राहत पाउन सकून् भनेर सहकारीले ‘आकस्मिक बचत योजना’ सञ्चालनमा ल्याएको बताए। उनका अनुसार हालसम्म ५५ सय सदस्यबाट १ करोड ४० लाख रुपैयाँ संकलन भइसकेको छ र यो रकम आवश्यकता पर्दा सदस्यहरूलाई तात्कालिक राहतस्वरूप उपलब्ध गराइनेछ।
धवलागिरी क्षेत्रका तीन जिल्लामा २५ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको सिवाईसी साकोसमा हाल २६ हजार ८ सय सेयर सदस्य, ६ हजार ४ सय बाल बचतकर्ता र ५ हजार ७ सय ऋणी सदस्य छन्। संस्थाको सेयर पुँजी ३९ करोड ४१ लाख, बचत रकम १ अर्ब ५५ करोड र लगानीमा बाँकी रहेको ऋण १ अर्ब ३६ करोड रुपैयाँ छ। कुल सम्पत्ति २ अर्ब ३६ करोड नाघिसकेको छ।
कार्यक्रम समापनको क्रममा केन्द्रीय संयोजक भोलानाथ आचार्य, सेवाकेन्द्र प्रतिनिधिहरू सरस्वती शर्मा र बलराम सापकोटाले मन्तव्य व्यक्त गरेका थिए। सहभागीहरूबाट तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया आएको थियो। अन्त्यमा सिवाईसी नेपालका सचिव विरबहादुर किसानले तालिमलाई निरन्तरता दिँदै यसलाई अझ संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।
बर्खायाम सुरु हुनै लागेको यस सन्दर्भमा, बागलुङको सिवाईसी साकोसले देखाएको यो अग्रसरता केवल एक संस्थागत अभ्यास मात्र होइन, राज्य र नागरिक समाजबीचको उत्तरदायित्व बाँडफाँटका लागि अनुकरणीय अभ्यास बन्न पुगेको छ।