
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले अब आफ्नो आगामी राजनीतिक यात्रा के हुने भन्नेबारे औपचारिक रूपमा केही नबताए पनि, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको टिममा सहभागी हुने अनुमान गरिएको छ। विश्लेषकहरूले पनि यही कारणले श्रेष्ठले रास्वपा छोड्ने निर्णय गरेको बताइरहेका छन्।
पार्टी छोड्ने घोषणा गर्दै उनले सभापति रवि लामिछानेप्रति अप्रत्यक्ष रूपमा प्रहार गरिन्। श्रेष्ठले लामिछानेलाई इंगित गर्दै ‘गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै स्वीकार नगर्ने’ शैलीले पार्टीलाई कमजोर बनाएको आरोप लगाइन्।
उनका अनुसार, रास्वपाले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेताको स्वार्थ राख्न थालेपछि उनले लगातार आलोचना गर्दै आएकी थिइन्। तर आलोचनालाई स्वीकार गर्नुको साटो आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको उनको दाबी छ।
यसअघि, रवि लामिछानेले आमरूपमा जेलबाट फरार भएको आरोप लागेपछि पुनः कारागार फर्किनुअघि सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका थिए। उनले त्यसमार्फत पार्टी छोडेर जानेहरूलाई बाधक नबन्ने स्पष्ट सन्देश दिएका थिए। उनको सन्देश आएको दोस्रो दिनमा नै सुमना श्रेष्ठले पार्टी छोडेकी हुन् ।
केही वर्षअघि ‘वैकल्पिक राजनीति’ को नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ अहिले फेरि गम्भीर संकटको दोबाटोमा पुगेको छ। स्थापनाकालदेखि अहिलेसम्मको छोटो यात्रामा पार्टीले गरेको उपलब्धिभन्दा विवाद र आन्तरिक संघर्षले बढी समाचार बनेका छन्।
२०७९ सालको चुनावमा पहिलो पटक सहभागिता जनाउँदै रास्वपाले चमत्कारिक सफलता हात पारेको थियो। रवि लामिछानेप्रतिको आशा, स्थापित दलप्रति जनतामा बढेको आक्रोश, युवापुस्ताको समर्थन र ‘वैकल्पिक विकल्प’ को चाहनाले पार्टी छोटो समयमै नेपालको तेस्रो शक्तिशाली दलका रूपमा स्थापित भएको थियो। संसद्मा उल्लेख्य सिट ल्याएपछि रास्वपाले सरकारको भागीदारी पनि पायो र लामिछाने स्वयं गृह मन्त्रीसम्म बने।
तर, प्रारम्भिक सफलतासँगै रास्वपाले निरन्तर विवादको सामना गर्न थाल्यो। रवि लामिछानेको अमेरिकी नागरिकता त्याग प्रक्रियासम्बन्धी कानुनी प्रश्नले पार्टीलाई ठूलो धक्का दियो। यसै विवादका कारण उनी मन्त्री पदबाट राजीनामा गर्न बाध्य भए।
संस्थागत संरचना बलियो नबन्दै पार्टी ‘रवि–केन्द्रित’ बनेको आरोप लाग्यो। यसले अन्य नेताहरूलाई असन्तुष्ट तुल्यायो। संसद्मा प्रभावकारी भूमिका खेल्नुपर्ने बेला रास्वपाका प्रतिनिधिहरूले असंगत वक्तव्य, हतारको निर्णय र आन्तरिक फुटले आफ्नै लोकप्रियतालाई ह्रास गराए।
पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी संस्थाहरूमा लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप लाग्यो। पार्टी सभापति बन्नुअघि उनी सञ्चालित मिडिया र प्रभावकारी हैसियत प्रयोग गरेर सहकारीको कारोबारसँग जोडिएको भन्ने उजुरीहरू आयो।
पीडितहरूले उजुरी दिएपछि प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक अध्ययन सुरु गर्यो। लामिछानेले गृह मन्त्रालय सम्हाल्दा पनि सहकारी विवादमाथि हस्तक्षेप गरेको आरोप लाग्यो। करिब डेढ वर्षअघि सहकारी प्रकरणमा उनी पक्राउ परे। केही समयपछि उनले अदालतको आदेशअनुसार थुनामा बस्नुपर्यो।
लामो विवाद र जेल–रिहाइको चक्रका कारण रास्वपाभित्र असन्तुष्टि बढ्यो, जसले अहिले सुमना श्रेष्ठलगायत नेताहरूको पार्टी परित्यागसम्म ल्यायो। रास्वपाभित्र समस्या अहिले झन् तीब्र रूपमा देखिन थालेका छन्। पार्टी नेतृत्व एक व्यक्तिमा निर्भर हुनु, संस्थागत संरचना नबन्नु, आन्तरिक लोकतन्त्रको कमी हुनु, विचारधारात्मक अस्पष्टता, यी सबै कारणले रास्वपा छोटो समयमा ठूलो जनसमर्थन बटुल्न सफल भए पनि त्यो समर्थन जोगाउन असफल देखिएको छ।
यतिमात्र होइन, जेन–जी आन्दोलनको साइडइफेक्ट पनि सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीमा परेको छ। सभापति रवि लामिछानेको विवादास्पद गतिविधि, जेलमुक्त प्रक्रियामा देखिएको आक्रामक शैली र नक्कली पत्र प्रकरणले आन्दोलनकारी तथा कार्यकर्ताले ठूलो आलोचना खप्नुपरिरहेको छ। संसद विघटनप्रति नेताहरूको फरक–फरक धार, लामिछानेप्रति असन्तोष र सार्वजनिक सम्पत्ति तोडफोडमा पार्टीजनको संलग्नताले रास्वपाको भविष्य झन् अनिश्चित देखिएको छ।
रास्वपाको अहिलेको अवस्था नेपाली राजनीतिमा ‘छोटो समयमै उठेको तर दीर्घकाल टिक्न नसकेको आन्दोलनात्मक दल’ हरूसँग मिल्दोजुल्दो देखिएको छ। आफूलाई वैकल्पिक शक्ति भनेपनि यतिबेला यो पार्टी विकल्प बन्न सकेको छैन । जनताले दिएको समर्थनलाई संस्थागत रुप दिन नसकेर, विवाद र असन्तुष्टिले गाँजिँदा रास्वपा अस्तित्वकै संकटमा पुगेको जस्तो देखिन्छ।