• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रवासीको मनमा देश : विदेशको ज्ञान, स्वदेशको चुनौती

लामो समयदेखि हङकङमा बसेर स्वास्थ्य क्षेत्रमा अध्ययन र अनुसन्धानमा संलग्न रहँदा नेपाललाई सधैँ नजिकबाट नियालिरहेको हुन्छु। यसपटक नेपाल आएको एक हप्तामै यहाँको परिदृश्यमा धेरै कुरा अनुभव गर्न पाएँ, जसमध्ये ‘जेनजी’ आन्दोलन प्रमुख थियो।

यो देख्दा मलाई सन् २०१९-२० मा हङकङमा भएको युवाहरूको आन्दोलनको याद आयो, जसलाई हामीले प्रत्यक्ष देखेका र भोगेका थियौँ। नेपालको जेनजी आन्दोलन र हङकङको त्यो ‘एल्लो कलर रिभोलुसन’ मा युवाहरूको उर्जा र आवेगमा समानता भए पनि हङकङको अनुभवले हामीलाई केही गम्भीर पाठ सिकाएको छ। त्यहाँको आन्दोलन करिब एक वर्षसम्म चल्यो, तर त्यसको कुनै ठोस र सकारात्मक परिणाम आएन।

त्यहाँका मागहरू अव्यावहारिक थिए र कसैको उक्साहटमा भएको जस्तो देखिन्थ्यो, जसले गर्दा आन्दोलनले उपलब्धिभन्दा बढी क्षति पुर्‍यायो। सबैभन्दा दुःखद पक्ष, आन्दोलनमा होमिएका हजारौँ दक्ष र व्यावसायिक युवाहरू देश छोडेर पलायन हुन बाध्य भए, जसले गर्दा आज हङकङ दक्ष जनशक्तिको अभाव झेलिरहेको छ।

नेपालमा जेनजीले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मागहरू निसन्देह जायज थिए। तर, कुनै पनि आन्दोलन सुरु गर्नुअघि त्यसका सम्भावित परिणाम, त्यसभित्र हुन सक्ने घुसपैठ र त्यसले निम्त्याउन सक्ने क्षतिबारे गहिरो सोचविचार हुनुपर्छ। आवेगमा हामीले आफ्ना ऐतिहासिक धरोहर र महत्त्वपूर्ण संरचनाहरू गुमाउन सक्छौँ, जुन हामीले गुमायौँ पनि। त्यसैले, आफ्ना मागहरूलाई कसरी रचनात्मक र सकारात्मक तरिकाले अगाडि बढाउन सकिन्छ भन्नेबारेमा आलोचनात्मक चिन्तन हुन अनिवार्य छ।

मेरो व्यक्तिगत यात्रा बागलुङको जैमिनीबाट सुरु भयो, जहाँ मेरा शिक्षक बुवाले सानैदेखि शिक्षाको महत्त्व सिकाउनुभयो। गाउँमै माध्यमिक तहसम्म पढेपछि माओवादी द्वन्द्वका कारण काठमाडौँ आएर एसएलसी, प्लस टु र पूर्वाञ्चल विश्वविद्यालयबाट बीएससी नर्सिङ पूरा गरेँ। त्यसपछि हङकङ गएर मास्टर अफ साइन्स र हालै चाइनिज युनिभर्सिटी अफ हङकङबाट नर्सिङमै पीएचडी सकें। अहिले पोस्ट-डक्टोरल फेलोको रूपमा क्यान्सर रोकथामबारे अनुसन्धान गरिरहेको छु। नेपाल र हङकङको शैक्षिक प्रणालीमा निकै भिन्नता पाएँ। हङकङमा स्रोत-साधन, सुविधायुक्त पुस्तकालय र विश्वस्तरीय प्राध्यापकहरूका कारण अध्ययन-अनुसन्धानका लागि अत्यन्तै सहज वातावरण छ। त्यहाँ पढ्ने इच्छाशक्ति मात्र हुनुपर्छ, पैसाले रोक्दैन; सरकारले विभिन्न छात्रवृत्ति र सहयोगमार्फत अवसरको ढोका खोलिदिन्छ।

मेरो अनुसन्धानको मुख्य क्षेत्र क्यान्सर रोकथाम हो, विशेषगरी आन्द्राको क्यान्सर (कोलोरेक्टल क्यान्सर)। मैले हङकङमा बसोबास गर्ने दक्षिण एसियाली समुदायमा क्यान्सर परीक्षणको दर किन कम छ भनेर अध्ययन गर्दा भाषा, संस्कृति, धर्म र त्यहाँको स्वास्थ्य प्रणालीबारे जानकारीको कमीजस्ता अनेक बाधा रहेको पाएँ। यिनै कारणले परीक्षण कम हुँदा हाम्रो समुदायमा रोग ढिलो पत्ता लाग्ने र जोखिम बढ्ने देखियो। नेपालको स्वास्थ्य क्षेत्रमा पनि यस्तै चुनौतीहरू छन्। विशेषगरी नेपाली महिलाहरूमा पाठेघरको मुखको क्यान्सर एक प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको छ। हङकङमा सरकारले निःशुल्क वा सहुलियत दरमा परीक्षणको सुविधा दिएकाले रोग सुरुवाती चरणमै पत्ता लाग्छ र सफल उपचार सम्भव हुन्छ। तर नेपालमा जनचेतना र परीक्षण सुविधाको अभावले गर्दा रोग अन्तिम अवस्थामा पुगेपछि मात्र थाहा हुन्छ, जसले गर्दा मृत्युदर निकै उच्च छ।

हामीले बागलुङको जैमिनीमा सामान्य ‘भिनेगर’ प्रयोग गरेर पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने एउटा शिविर चलाएका थियौँ। यस्ता सरल र कम खर्चिला रोकथामका उपायहरूलाई गाउँ-गाउँसम्म पुर्‍याउन सकियो भने हजारौँ महिलाको जीवन बचाउन सकिन्छ।

हङकङमा बस्ने नेपाली समुदायको मनमा नेपालप्रति अगाध माया र चिन्ता छ। भूकम्प होस् वा कोभिड महामारी, हरेक संकटमा त्यहाँका नेपालीहरू एकजुट भएर सहयोग गर्न सधैँ तत्पर रहन्छन्। पछिल्लो समय हङकङमा नेपालीहरू विभिन्न क्षेत्रमा स्थापित भएका छन्; विश्वविद्यालयका प्राध्यापक, शिक्षक, वकिलदेखि निर्माण क्षेत्रका दक्ष पेशेवरसम्म। त्यहाँको सरकारले पनि आप्रवासी समुदायलाई मूलधारमा ल्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरेकाले विभेद कम हुँदै गएको छ र समाज थप समावेशी बनेको छ।

बाहिरबाट हेर्दा नेपालमा विकास, विशेषगरी पूर्वाधार निर्माण, भइरहेको देखिन्छ, जुन खुसीको कुरा हो। तर, हामीजस्ता विदेशमा ज्ञान, सीप र अनुभव हासिल गरेका युवाहरू नेपाल फर्किएर योगदान दिन चाहँदा यहाँको प्रक्रियागत झन्झट र नयाँ विचारलाई सहजै स्वागत नगर्ने प्रवृत्ति बाधक बन्न सक्छ कि भन्ने चिन्ता लाग्छ। यदि राज्यले यस्ता प्रतिभाहरूलाई आकर्षित गर्न र उनीहरूको सीप प्रयोग गर्न सहज वातावरण बनाइदिने हो भने देशले ठूलो लाभ लिन सक्छ।

अब मेरो भविष्यको योजना पनि क्यान्सर रोकथामकै क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा काम गर्दै नेपालमा पनि केही ठोस योगदान पुर्‍याउनु हो। यसअघि मैले आफ्ना विदेशी प्रोफेसरहरूलाई नेपाल ल्याएर यहाँको अवस्थाबारे अध्ययन पनि गराएको थिएँ। भविष्यमा यस्तै सहकार्यमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा, विशेषगरी क्यान्सर रोकथाममा, काम गर्ने लक्ष्य छ। अन्त्यमा, फेरि पनि युवाहरूलाई भन्न चाहन्छु, हाम्रो जोश र विवेकको सही संयोजन हुन आवश्यक छ ताकि हाम्रा प्रयासहरूले विनाश होइन, विकास र सकारात्मक परिवर्तन ल्याउन सकून्।

– चाइनिज युनिभर्सिटी अफ हङकङबाट नर्सिङमा पीएचडी गरेकी डा‍‍. टिका रानासँगकाे कुराकानीमा आधारित ।