• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कांग्रेस बझाङमा नयाँ पुस्ताको दाबी, दिपेन्द्र राज जोशी मुख्य चर्चामा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। कांग्रेसले यसपटक युवा नेता तथा प्राज्ञिक व्यक्तित्व दिपेन्द्र राज जोशीलाई पनि सशक्त दाबेदारका रूपमा अघि सारेको छ।

जिल्ला कार्यसमितिले ९ जनाको नाम केन्द्रमा पठाएको हो। सिफारिस सूचीमा अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह, सत्यराज भण्डारी, सुरेश मल्ल, जगत प्रसाद जोशी, प्रकाश स्नेही, नारायण हमाल र केशवराज जोशी पनि रहेका छन्।

यी नेताहरूबीच दिपेन्द्र राज जोशी अन्य नामभन्दा भिन्न र आकर्षक पृष्ठभूमिका कारण चर्चामा छन्। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय उनी हाल वातावरण विज्ञानमा विद्यावारिधि गर्दैछन्। जलवायु परिवर्तन र वातावरणीय मुद्दा विश्व चासोको विषय बन्दै गएका बेला जोशी नेपाल वातावरण समाजका केन्द्रीय सदस्यसमेत रहेका छन्। वातावरणमैत्री विकास र नीतिगत सुधारका पक्षमा प्रभावकारी हस्तक्षेप गर्न सक्ने क्षमताका कारण उनको नाम पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ।

राजनीतिक यात्राको सुरुवात त्रिचन्द्र क्याम्पसबाट गरेका जोशी नेविसंघ त्रिचन्द्र क्याम्पसका पूर्व सचिव हुन्। विद्यार्थी राजनीतिमा सक्रियता देखाएसँगै उनी अहिले युवा संस्था सञ्जालका केन्द्रीय उपाध्यक्ष पनि छन्, जसले उनलाई सामाजिक संस्थाहरूमा समेत प्रभावशाली बनाएको छ। कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि भइसकेका जोशी २०७९ को आम निर्वाचनमा समेत बझाङबाट समानुपातिकतर्फ सिफारिस भएका थिए।

हालको राजनीतिक वातावरणमा पढेलेखेका, विषयगत विज्ञता भएका तथा युवा उमेरका नेताहरूको खोजी तीव्र बन्दै गएको छ। पुराना अनुहारप्रति जनआक्रोश बढिरहेका बेला वातावरण विज्ञानका विज्ञ तथा सक्रिय युवा नेता जोशीको सिफारिसलाई बझाङका कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका छन्। जिल्लाबाट ९ जनाको नाम केन्द्रमा पठाइए पनि समसामयिक राजनीतिक आवश्यकता र जनचाहना अनुसार ‘एकेडेमिक’ पृष्ठभूमि भएको कारण जोशीले टिकट पाउने सम्भावना बलियो मानिएको छ। युवा ऊर्जा र विज्ञताबाट उनले बझाङको विकासमा नयाँ आयाम थप्न सक्ने अपेक्षा गरिएको छ।