• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अख्तियारको फन्दामा कांग्रेस नेता चालिसे: साढे तीन करोडको स्रोत नखुलेपछि विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता, पूर्वसांसद एवं गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारको अनुसन्धानमा चालिसेले सार्वजनिक पदमा रहँदा आफ्नो वैधानिक आयभन्दा ३ करोड ६८ लाख रुपैयाँ बढी सम्पत्ति जोडेको पाइएको छ।

आयोगका अनुसार चालिसेले २०७४ जेठ ८ गते सार्वजनिक पद सम्हालेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा अस्वाभाविक खर्च तथा लगानी गरेको देखिएको छ। अनुसन्धानमा देखिएको विवरण यस्तो छ:

वैधानिक आय: चालिसे र उनको एकाघर परिवारको पारिश्रमिक, भत्ता, जग्गा बिक्री, ऋण लगायतबाट जम्मा ४ करोड ८८ लाख ३५ हजार ४ सय ६७ रुपैयाँ आय देखिएको छ।

खर्च र लगानी: सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सेयर लगानी, अध्ययन खर्च र बैंक मौज्दातसहित जम्मा ८ करोड ५६ लाख ८३ हजार २ सय २९ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ।

यसरी आय र खर्चको तुलना गर्दा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार चालिसेले अनुसन्धानका क्रममा पेस गरेका ऋणका तमसुक र कागजातहरू जाँच अवधिपछि खडा गरेको पाइएको छ। आयोगले ती कागजातहरू सम्पत्तिको स्रोत लुकाउन र भ्रम सिर्जना गर्न बनाइएको निष्कर्ष निकाल्दै त्यसलाई वैधानिक स्रोत मान्न अस्वीकार गरेको छ।

साथै, चालिसेले सार्वजनिक पदको दुरुपयोग गरी अस्वाभाविक रूपमा उच्च जीवनस्तर यापन गरेको समेत अनुसन्धानबाट खुलेको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरेको छ। साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न पनि मागदाबी लिइएको छ।

अख्तियारले चालिसेको गैरकानूनी सम्पत्तिबाट बढेको वा त्यसबाट खरिद गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर र सञ्जीव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाएको छ।

यसबाहेक, चालिसेले आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण समयमै पेस नगरेको पाइएकाले उनीमाथि प्रचलित कानुन बमोजिम जरिवाना गर्न गोकर्णेश्वर नगरपालिकालाई पत्राचार गरिने आयोगले जनाएको छ।